अन्जनको ह्‍याट्रिकमा बङ्गलादेशमाथि नेपालको सहज जीत

काठमाडौं, ११ असोज । बङ्गलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले सहज जीत निकालेको छ । मङ्गलबार दशरथ रङ्गशालामा सम्पन्‍न खेलमा नेपालले बङ्गलादेशलाई ३-१ गोलअन्तरले हराएको हो ।

नेपालको जीतमा अन्जन विष्टले ह्‍याट्रिक गरे । उनले पहिलो हाफमै ह्‍याट्रिक गरेका थिए । बङ्गलादेशका सजाद हुसेनले गरेको गोल सान्त्वना बन्यो ।

खेलको १८औं मिनेटमा अन्जनले पहिलो गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । अन्जनमाथि भएको फाउलपछि प्राप्त फ्रिकिकमा विमल घर्ती मगरबाट आएको बललाई अन्जनले हेडरमार्फत जाली चुमाएका थिए ।

२७औं मिनेटमा अन्जनले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । तेज तामाङले गरेको प्रहार विपक्षी गोलरक्षक अनिसुर रहमानले पन्च गरेपनि रिबाउन्डमा अन्जनले गोल गरे ।

३८औं मिनेटमा अन्जन विष्टले ह्याट्रिक पूरा गरेपछि नेपाल खेलमा ३–० ले अघि बढ्यो । बंलादेशविरुद्ध ह्याट्रिक पूरा गरेपछि अन्जन राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडी सुचीमा संयुक्त रुपमा तेस्रो स्थानमा रहेका छन् । अनिल गुरुङ र भरत खवाससँगै अब अन्जनको पनि समान १० गोल रहेको छ ।

५५औं मिनेटमा सजाद हुसेनले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि थप गोल निस्किएनन् र नेपाल ३-१ ले विजयी रह्‍यो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय