चाडपर्व र चुनावसँगै विश्‍व खेलकुदको उमङ्ग नजिकिँदै

प्रतिक भट्ट

असोजको महिना अर्थात् चाडपर्वको महिना । सोमबार जमरा राखेसँगै नेपालीहरुको महान् चाड बडादशैंको सुरुवात भइसकेको छ । दशैंको रौनकसँगै बजारमा पनि चहलपहल देखिन थालेको छ । त्यसलगत्तै तिहारको रमझम पनि सुरु हुने नै छ ।

नेपालमा चाडपर्वसँगै विश्‍व खेलकुदमा पनि छुट्टै उमङ्ग नजिकिँदै छ । विश्‍व फुटबलको महासँग्राम अर्थात् चार वर्षमा एकपटक आउने खेलप्रेमीको अर्को चाड-विश्‍वकप फुटबल । त्यसअघि क्रिकेटको पनि विश्‍वकप हुँदै छ- टी२० विश्‍वकप ।

टी२० विश्‍वकप सुरु हुन अब एक महिना पनि बाँकी छैन । अस्ट्रेलियामा हुने विश्‍वकपका लागि सबै टोलीले आ-आफ्ना टोली घोषणा गरिसकेका छन् । नेपालले भने युएईलाई हराउन नसकेकाले विश्‍वकपमा स्थान बनाउन सकेन ।

आगामी अक्टोबर १६ अर्थात् असोज ३० गतेदेखि सुरु हुने विश्‍वकपमा आयोजक एवम् डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियासँगै भारत, पाकिस्तान, न्युजिल्यान्ड, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, श्रीलंका, वेस्टइन्डिज, बङ्गलादेश, नामिबिया, नेदरल्यान्ड्स, युएई, आयरल्यान्ड जिम्बावे र स्कटल्यान्ड सहभागी हुनेछन् ।

टी२० विश्‍वकपको फाइनल नोभेम्बर १३ अर्थात् कात्तिक २७ गते सकिनेछ । त्यसको एक हप्तामा नेपालमा राजनीतिक सरगर्मी पनि बढ्ने छ । मंसिर ४ गते चुनाव पनि हुँदै छ भने सोही दिनदेखि विश्‍वकप फुटबल सुरु हुनेछ ।

कतारमा हुने विश्‍वकप फुटबल पौष ३ गतेसम्म चल्ने छ । विश्‍वकपमा ३२ राष्ट्र भिड्ने छन् । विश्‍वकप फुटबल  प्रायः सबै उमेरसमूहका व्यक्तिहरुका लागि खास हुने गरेको छ । फुटबल खासै नहेर्ने व्यक्तिहरु पनि विश्‍वकप फुटबल भनेपछि मुडी बन्‍न थाल्दछन् ।

विश्‍वकप फुटबलमा सबैभन्दा सफल टोली ब्राजिल हुँदा ब्राजिलका समर्थकहरु पनि पहेंलो जर्सी लगाएर आफ्नो टोलीलाई समर्थन गर्न टेलिभिजन सेटअगाडि बसेका हुन्छन् । त्यसैगरी वर्तमान समयका चर्चित खेलाडी लियोनल मेसीको अर्जेन्टिना तथा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलको समर्थक पनि उत्तिकै मात्रामा रहने गरेका छन् ।

मेसीको कप्तानीमा अर्जेन्टिनाले तथा रोनाल्डोको कप्तानीमा पोर्चुगलले विश्‍वकप जितेको हेर्ने चाहना नेपालमै हजारौं फुटबल समर्थकको रहेको छ । तर दुवैका लागि यो विश्‍वकप अन्तिम हुन सक्छ त्यसकारण मेसी वा रोनाल्डोका समर्थकमध्ये एक पक्षको त्यो चाहना अधुरै रहने छ ।

सन् २०१० को विश्‍वकपमा अर्जेन्टिनाको यात्रा क्‍वाटरफाइनलमै समाप्त भएको थियो भने पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको थियो । त्यस संस्करणको विश्‍वकप स्पेनले जित्दा नेदरल्यान्ड्स उपविजेता बनेको थियो ।

त्यसैगरी सन् २०१४ को विश्‍वकपमा पोर्चुगल समूह चरणबाटै बाहिरिएको थियो भने अर्जेन्टिना उपाधिको अत्यन्त नजिक पुगेर चुक्यो । फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा गोल व्यहोरेर पराजित हुँदै अर्जेन्टिना उपाधि जित्‍नबाट वञ्‍चित भएको थियो ।

सन् २०१८ को विश्‍वकपमा दुवै टोली अन्तिम १६ बाट बाहिरिए । पोर्चुगल उरुग्वे तथा अर्जेन्टिना फ्रान्ससँग पराजित भएका थिए । दुवै टोली ३ घण्टाको अन्तरमा पराजित भएका थिए ।

पोर्चुगल अर्जेन्टिना र ब्राजिलबाहेक जर्मनी र फ्रान्सका समर्थक पनि नेपालमा धेरै संख्यामा भेटिन्छन् । त्यसैगरी इंग्ल्यान्ड र स्पेनका पनि समर्थक उत्तिकै रहेका छन् ।

विश्‍वकप फुटबलका बेला सपरिवार बसेर खेल हेरेर मज्जा लिने गरेको पनि देखिन्छ । चाडपर्वमा देखिने रौनक नसकिँदा नसकिँदै विश्‍व फुटबलको रौनक सुरु हुने देखिन्छ ।

मानिसहरु आफुलाई मन पर्ने टोलीको जर्सी लगाएर समर्थन गर्ने गर्दछन् । कतिले त गाला र अनुहारमा पनि स्केच बनाउने गरेको देखिन्छ । नेपालले हालसम्म विश्वकप खेल्न नसकेपनि समर्थकहरु दोस्रो देशको समर्थनमा पनि मज्जा लिने गर्दछन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय