सरकारसँग १० बुँदे सहमतिसँगै डा. केसीको अनशन तोडियो
काठमाडौं, ८ असोज । डा. गोविन्द केसीले १३औं दिनमा अनशन तोडेका छन् । सरकारसँग १० बुँदे सहमति भएसँगै उनले अनशन तोडेका हुन् ।
सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले सोही अस्पतालमा उपचाररत सरिता चाैधरीकाे हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट डा. केसीले हस्ताक्षर गरेका छन् ।
सरकारी अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न हाल कायम रहेको चिकित्सकको दरबन्दी थप गर्न सरकार तयार भएको छ । त्यसका लागि ५०० शय्याका अस्पतालहरुको संगठन तथा व्यवस्थपन सर्वेक्षणको काम सम्पन्न गरी शीघ्र स्वीकृतिको प्रक्रियामा लैजाने सहमति भएको छ ।
त्यस्तै अन्य सरकारी अस्पतालको पनि संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम छिटो सक्ने सरकारले सहमति जनाएको छ । त्यस्तै सबै सरकारी अस्पतालमा आकस्मिक सेवा निशुल्क गर्न सरकार तयार भएको छ ।
डा. केसीसँग भएको सहमति सरकारले अब बस्ने मन्त्रिपरिषद बैठकमा पेश गर्नेछ । अनशन तोड्दै डा. केसीले सहमति सात दिनभित्र कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी दिएका छन् ।