शिक्षामा नीतिगत सुधारको पक्षमा विष्णु

शीरज शर्मा

धेरै मानिसको चाहना हुन्छ जीवनमा आफु केही गरौं, केही बनौं र आनन्दको जिन्दगी बिताऊँ । राम्रो शिक्षा, उच्च आम्दानी हुने जागिर वा पेशा, सम्पन्न र सुखी परिवार अनि आवश्यक परेको बेला खर्च गर्न पुग्‍ने सम्पत्ति । सम्भवत: आफ्नो लागि धेरैले सोच्‍ने यत्ति हो ।

तर, यी सबै कुरालाई एकातिर राखेर आफ्नो सोचाइको अर्को पाटोमा पनि ध्यान दिने थोरै मानिस पनि हुन्छन् । जसले ‘म’ होइन हामी र ‘मेरो’ होइन हाम्रो सफलताको कुरा गरेको हुन्छ ।

– विष्णुप्रसाद पराजुली

आफू मात्रै एक्लै सक्षम हुँदा भन्दा टोल, समाज र राष्ट्रलाई नै सक्षम बनाउने बारे सोच्‍ने कम मानिस मध्यमा पर्दछन ओखलढुंगाको सुनकोसी गाउँपालिकाका विष्णुप्रसाद पराजुली ।गाउँबाट एसएलसी उत्तिर्ण गरेर राजधानी काठमाडौं आएपछि पढ्दै र पढाउँदै जीवनको २१ बर्ष शिक्षा क्षेत्रमा नै बिताएका पराजुली अहिले पनि बिनायक शिद्ध कलेज चाबहिलका निर्देशक र प्रोग्रेसिभ स्कुल महाङ्कालका प्रिन्सिपल छन् ।

उनी निजी स्कुलको छाता संस्था नेशनल प्याब्सन काठमाडौका पूर्व अध्यक्ष तथा हाल केन्द्रीय सचिव समेत हुन् । शिक्षा क्षेत्रको ज्योति बनेर उदाएका पराजुली यसैवर्ष सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको शिक्षा क्षेत्रकै उच्च पदक ‘शिक्षा ज्योति पदक’ बाट विभूषित भए । शिक्षा क्षेत्रमार्फत देशमा दक्ष र गुणस्तरीय शिक्षा प्रदान गर्दै समाज रुपान्तरण र विद्यार्थी भाइबहिनिको भविष्य समेतलाई ध्यानमा राखेर उनले स्कुल र कलेज सञ्चालन गरेका छन् ।

उनले स्नातक पढ्दादेखि पढाउन थालेका हुन् । २०५८ देखि तीन वर्ष उनले एउटा स्कुलमा नेपाली विषय पढाए । त्यसपछि २०६० साल देखि आफैं प्रिन्सिपल भएर प्रोग्रेसिभ इङलिस सेकेण्डरी स्कुल सुरु गरे । हालसम्म पनि उनी सो स्कुलको प्रिन्सिपल छन् । त्यसैगरी चाबहिलमा ५ वर्षदेखि बिनायक सिद्ध कलेज सुरु गरी त्यसको निर्देशकको जिम्मेवारीमा रहेका पराजुलीले करिब १८ सय विद्यार्थी र तिनको अभिभावकको समेत मन जितेका छन् ।

‘मेरो उदेश्य गुणस्तरीय शिक्षा र विद्यार्थीको शुन्दर भविष्य आफ्नै देशमा खोज्‍ने हो’, उनी भन्छन्- ‘कैयौं विदेशी कलेजभन्दा राम्रो शिक्षा नेपालकै कलेजमा दिन सकिन्छ र दिइरहेका छन् तर, विद्यार्थीले यहाँ भविष्य नदेखेर नै पढ्ने भनेर विदेश गएपछि काम पनि उतै गर्ने र विदेशमै बस्‍ने अवस्था रह्‍यो । यो हाम्रो लागि सुखद होइन,यसलाई रोक्नुपर्छ’।

आफ्नो स्कुल अनि कलेजमा अध्यापन र व्यवस्थापन हेर्ने मात्रै होइन पराजुलीले विदेशमा गएर पनि धेरै कुरा सिक्ने र सिकाउने गरेका छन् । शिक्षा क्षेत्रमा कसरी सुधार ल्याउन सकिन्छ भनेर लागिपरेका पराजुली दक्ष शिक्षक अनि उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने कुरामा चासो राख्छन् । त्यसैले उनले आफ्नो कार्यकालमा युरोप अमेरिकाका उत्कृष्ट प्रशिक्षक ल्याएर नेपालमा झन्डै २ हजार शिक्षकलाइ दक्ष बनाउने तालिम सञ्चालन गरे ।

उनी आफैं पनि थाइल्यान्ड, टर्की, भारतलगायत देशमा गएर अध्ययन/अध्यापन तालिम लिएर आएका छन् । हालसम्म पुरानै शिक्षा नीतिका कारण चाहेर पनि शिक्षा क्षेत्रमा सुधारका काम अगाडि बढ्न नसकेको बताउने पराजुली अबको शिक्षा नीति राम्रो बन्नुपर्नेमा जोड दिन्छन् । ‘स्वदेशी कलेज पनि विदेशका राम्रो भनिएका कलेजसँग प्रतिस्पर्धा गर्न सक्ने खालको छ’, उनी भन्छन्- ‘तर शिक्षा नीति र सरकारको द‍ृष्टिकोण सहि हुनुपर्छ । हाम्रो शिक्षाको गुणस्तर र कलेजको समस्या होइन, समस्या नीति निर्माणमा हो’ ।

देशको अन्य क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा पनि अस्थिरता र अन्यौलता रहेको भन्दै भन्दै पराजुलीले शिक्षालाई कसरी राम्रो बनाउने भन्नेमा राज्यको पोलिसी के हो भन्ने नै अन्यौल रहेको बताए । उनले राजनीतिक अस्थिरता र सरकार परिवर्तन भइरहने अनि सरकार फेरिएसँगै मन्त्री आउने जाने भएपछि गर्नुपर्ने काम पनि गर्न नसक्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरे ।

हाल देशमा रहेका निजी विद्यालयमा ३ लाखभन्दा बढी कर्मचारी र सोही संख्यामा बाहिरी जनशक्तिले रोजगारी पाएको भएपनि यसलाई व्यवहारिक हिसाबले स्पस्ट द‍ृष्टिकोण नहुँदा सम्बोधन गर्न नसकिएको उनको बुझाइ छ । देशभर अध्ययन गरिरहेका लाखौं विद्यार्थी र हजारौं शिक्षक कर्मचारीको भविष्यलाई सरकारले स्पष्ट सम्बोधन गर्ने गरी नीति बनाउनुपर्नेमा पनि उनको जोड छ । ‘सरकारले २०२८ कै शिक्षा ऐनबाट चल्नुपर्ने बाध्यतालाई छिटो सम्बोधन गर्नुपर्छ’, पराजुलीले भने ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय