ओभर घटाइएको खेलमा भारतले अस्ट्रेलियालाई हरायो, श्रृंखला बराबरीमा
काठमाडौं, ८ असोज । पाहुना टोली अस्ट्रेलियालाई हराउँदै भारतले टी-२० श्रृंखला बराबरीमा ल्याएको छ । शुक्रबार सम्पन्न दोस्रो खेलमा भारतले अस्ट्रेलियामाथि ६ विकेटको जीत निकाल्यो ।
वर्षापछि भिजेको मैदानका कारण ढिला सुरु भएको खेलमा ओभर छोट्याइएको थियो । जीतका लागि ८ ओभरमा ९१ रनको लक्ष्य पाएको भारतले ४ बलअगावै ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
उसका लागि कप्तान रोहित शर्मा ४६ रनमा अविजित रहे भने विराट कोहलीले ११ रन बनाउँदा केएल राहुल र दिनेश कार्तिकले १०-१० रन बनाए । अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए भने प्याट कमिन्सले १ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको थियो । म्याथिउ वेडले ४३ तथा कप्तान ऐरन फिन्चले ३१ रन बनाएका थिए । भारतका अक्षर पटेलले २ तथा जसप्रीत बुमराहले १ विकेट लिए ।
भारतको जीतसँगै तीन खेलको श्रृंखला १-१ को बराबरीमा आएको छ । तेस्रो तथा अन्तिम खेल आइतबार हुने छ ।