विद्यार्थी हरेक समय अनुशासित बन्‍नु पर्छ: डा. ज्ञवाली

काठमाडौं, ८ असोज । साहित्यकार एवं प्राध्यापक डा.रामप्रसाद ज्ञवालीले मानवीय मुल्य मान्यतालाई आत्मसात् गरेर विद्यार्थीले आफुलाई हरेक पल अनुशासनमा राख्नुपर्नेमा जोड दिएका छन् ।

नेशनल प्याब्सन काठमाडौंको आयोजनामा भएको शुभकामना आदान प्रदान तथा एसईइ सम्मान कार्यक्रममा बोल्दै डा. ज्ञवालीले सम्मानित विद्यार्थी तथा शिक्षकलाई बधाई र शुभकामना पनि दिए । उनले विद्यार्थीले आफुभित्रको क्षमता चिन्‍न सक्नुपर्ने भन्दै कुनैपनी कक्षामा ‘ए प्लस’ ल्याउन जरुरी छैन तर जीवनमा ‘ए प्लस’ हुनुपर्छ भन्नेमा जोड दिए ।

जिन्दगीलाई विशिष्ट बनाउन जरुरी भएको भन्दै उनले नम्बरसँगै विद्यार्थीले योग्य बन्ने सपना पनि देख्नुपर्ने बताए । विद्यार्थीले देशबाट बाहिर गएर अध्ययन गरेपनि देशमै फर्केर आउनुपर्ने र देशमा असल संस्कारको सुरुवात गर्नुपर्नेमा जोड दिए ।

नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल ठकुरीले सम्मानित विद्यार्थीलाई बधाई दिँदै आफुले पाएको सफलतालाई सम्झेर अझै लगनशील भएर अगाडी बढ्न सुझाब दिए । उनले अहिले सामाजिक सञ्जा‍लको कुलतमा लाग्दा धेरैले आफ्नो जीवन जोखिममा पारेको भन्दै मोबाइल हेर्दा कुन कुरा शेयर गर्ने कुन पढ्ने कुन नपढ्ने ख्याल गर्दै भविष्यका कर्णधारले ध्यान दिनुपर्नेमा जोड दिए ।

नेशनल प्याब्सन केन्द्रीय समिति सह-अध्यक्ष सुवास न्यौपानेले विद्यार्थीमा भएको असीमित क्षमतालाई प्रचुर मात्रामा व्यवहारमा उतार्न सक्यो भने जीवनमा ठूलो सफलता प्राप्त हुने बताए । उनले उत्कृष्ट भई पुरस्कृत हुने सबै विद्यार्थीलाई बधाई दिए । केन्द्रीय सल्लाहकार सुर्यबहादुर अधिकारीले सबै उत्कृष्ट विद्यार्थीलाई बधाई दिएका थिए ।

नेशनल प्याब्सन काठमाडौं समितिका अध्यक्ष खड्ग बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय सचिव विष्णु पराजुली सहित नेशनल प्याब्सन केन्द्र, प्रदेश, जिल्ला तथा नगरका पदाधिकारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रोग्रेसिभ इङलिस स्कुल महाङ्कालकी छात्रा सोहानी तामाङ सहित विभिन्न विद्यालयका विद्यार्थी र जिल्लाका १२ जना शिक्षकलाई पनि सम्मान गरिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय