जसपाद्वारा चरणबद्ध आन्दोलनको घोषणा
काठमाडौं, ७ असोज । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

जसपाको मधेस प्रदेश कमिटीको बिहिबार भर्चुअल माध्यमबाट बसेको बैठकले बस्दै राष्ट्रपति भण्डारीको राजीनामा माग्दै अन्य चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

असोज ८ गते प्रदेशका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमको सन्दर्भमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कानुनी व्यवसायीसँग र सञ्चारकर्मीसँग अन्तर्क्रिया गरिने छ ।
असोज ११ गते जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारी विरुद्ध प्रदर्शन गर्दै उनको पुत्ला जलाउने, १३ गते पालिका स्तरमा अन्तरक्रिया गर्ने र १५, १६, १७ गते पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने आन्दोलनको कार्यक्रम तय गरेको छ ।