काठमाडौं-३ मा बढ्यो चुनावी रौनक

काठमाडौं, ५ असोज । देशभर राजनीतिक सरगर्मी बढिरहेको बेला काठमाडौं क्षेत्र नम्बर-३ को चुनावी माहोल पनि बढ्दै गएको छ । यद्यपि गठबन्धन दलहरूले उम्मेदवार टुङ्गो लगाउन भने बाँकी छ ।

काठमाडौं-३ मा यसपटक गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय चुनावको परिणाम हेर्दा यहाँ एमालेभन्दा गठबन्धनको मत बढी छ ।

गठबन्धन मध्ये पनि नेपाली काँग्रेसले यो क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभाको दुवै क्षेत्र पाउने देखिएको छ । नेपाली काँग्रेसले उम्मेदवारको टुङ्गो लगाउन भने बाँकी छ । नेकपा एमालेले भने प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।

एमालेले प्रतिनिधिसभामा यसअघिकै उम्मेदवार कृष्ण राईलाई टिकट दिने भएको छ । उनले २०७४ मा नेपाली काँग्रेसकी उम्मेदवार अम्बिका बस्नेतलाई पराजित गरेका थिए । यसैगरी एमालेले प्रदेशको (क)बाट चन्द्रमान लामा र प्रदेशको (ख) बाट रामेश्वर फुयाललाई टिकट दिने भएको छ । फुयाल यसअघिका पनि सांसद हुन् । उनले नेपाली काँग्रेसका बिमल ठकुरीलाई पराजित गरेका हुन् ।

यता सत्ता गठबन्धनबाट भने नेपाली काँग्रेसले क्षेत्र र प्रदेश पाउने भनिएपनि उम्मेदवारको टुङ्गो अझै लगाएको छैन । नेपाली काँग्रेसले प्रतिनिधिसभामा केन्द्रीय सदस्य अम्बिका बस्नेत, गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर तथा क्षेत्रीय सभापति सन्तोष चालिसे, महासमिति सदस्य तथा युवा नेता हरिबोल भन्डारी, महासमिति सदस्य तथा पुर्व क्षेत्रीय सभापति प्रसुराम पोख्रेल र पुर्व क्षेत्रीय सभापति जगन्नाथ धिमालमध्ये एक जनालाई टिकट दिने अनुमान गरिएकोमा केन्द्रिय सदस्य बस्नेत समानुपातिकमा परिसकेपछि अब चालिसे, भन्डारी, पोख्रेल र धिमाल मध्येले टिकट पाउने देखिन्छ ।

अहिलेको अवस्थामा आफू दावेदार रहेको र टिकट पाउनेमा ढुक्क रहेको सन्तोष चालिसेले बताए । ‘मेरो योग्यता, क्षमता र अनुभवलाई पार्टीले न्याय गर्नेमा ढुक्क छु’, चालिसेले भने- ‘जनतासँग भिजेर काम गरेको छु, व्यक्तिगत स्वार्थ राखेको छैन र मैले जित्नुभनेको पार्टीले पनि जित्ने कुरा हो’ ।

उनले गोकर्णेश्वरको प्रथम मेयर भएर काम गर्दा जनताको हरेक सुखदु:खमा आफू जोडिएको र जनताले पनि न्याय गर्ने बताए । उनले यो जनताको मन र मत पाएर जित्ने चुनाव भएकोले जनताको मत पाउने र जित्ने कुरामा ढुक्क रहेको बताए ।

यसैगरी अर्का नेता भण्डारीले देश विकासमा युवाको प्रतिनिधित्व गर्दै मिसन र भिजन सहित विकास, समृद्धि र पार्टीलाई पनि एक ढिक्का बनाएर अगाडि बढ्ने चाहना रहेको बताए । उनले व्यक्ति भन्दा पार्टी र विचार मुख्य कुरा भएकोले पार्टीले न्याय गर्नेमा आफू ढुक्क रहेको सुनाए ।

यस्तै पोख्रेलले लामो समय पार्टीमा गरेको योगदान र पार्टीको बिचार बोकेर जनतामा जाने आफ्नो चाहनालाई पार्टीले पनि विचार गर्नेमा आफू ढुक्क रहेको बताए । उनले परेवान्युजसँग भने- ‘प्रजातान्त्रिक पार्टीमा प्रजातान्त्रिक मूल्य मान्यता स्थापित हुन्छ र मलाइ न्याय हुन्छ भन्नेमा म पुर्ण विश्वस्त छु’ ।

गएको स्थानीय निकाय निर्वाचन मतपरिणाम अनुसार यो क्षेत्रमा नेपाली काँग्रेसले १५ हजार ७ सय ९५, नेकपा एमालेले १४ हजार ८ सय ७६, राप्रपाले १ हजार ३ सग १४ माओवादी केन्द्रको १ हजार सात सय ३० र एकीकृत समाजवादीले १ हजार ५६ मत पाएका थिए । यसैगरी जसपाले जम्मा ८६ मत पाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय