राष्‍ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएन

काठमाडौं, ५ असोज । संघीय संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरणको समयसीमा सकिएको छ । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने भएपनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त विधेयक प्रमाणीकरण नभएको हो ।

यसअघि राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामै फर्काएको यो विधेयक त्यसपछि प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गर्दै पुनः प्रमाणीकरणका लागि पठाइएको थियो ।

संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिले यो विधेयक ४ असोज (मंगलबार मध्यरात)सम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो । तर त्यसो नगरिएपछि राष्ट्रपतिबाटै संविधानको उल्लंघन भएको छ ।

संविधानको धारा ११३ (४) मा भनिएको छ, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय