ग्रीन र वेडको उत्कृष्ट ब्याटिङमा भारतविरुद्ध अस्ट्रेलियाको शानदार जीत

काठमाडौं, ५ असोज । भारत भ्रमणमा रहेको अस्ट्रेलियन क्रिकेट टोलीले तीन खेलको टी-२० श्रृंखलामा शानदार विजयी सुरुवात गरेको छ । मङ्गलबार सम्पन्‍न पहिलो खेलमा अस्ट्रेलियाले भारतमाथि ४ विकेटको जीत निकाल्यो ।

जीतका लागि २०९ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४ बलअगावै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि क्यामरन ग्रीनले ६१ रन बनाए भने म्याथ्यु वेड ४५ रनमा अविजित रहे ।

त्यसैगरी स्टिभ स्मिथले ३५ रन बनाए । सुरुवाती १० ओभरसम्म विस्फोटक सुरुवात गरेको अस्ट्रेलियाले त्यसपछिका केही ओभरमा विकेट गुमाए पनि वेडले उत्कृष्ट ब्याटिङ गर्दै अस्ट्रेलियालाई जीत दिलाए । भारतका अक्षर पटेलले ३ विकेट लिँदा उमेश यादवले २ र युजभेन्द्र चहलले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो । हार्दिक पान्ड्या ७१ रनमा अविजित रहे भने केएल‌ राहुलले ५५ रन बनाए ।

सूर्यकुमार यादवले ४६ रनको योगदान दिँदा अस्ट्रेलियाका नेथन एलिसले ३ विकेट लिए । जोश हेजलवूडले २ तथा ग्रीनले १ विकेट हात पारेका थिए ।

जीतसँगै अस्ट्रेलियाले ३ खेलको श्रृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल शुक्रबार हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय