क्रिकेट विश्‍वकप लिग २: पिएनजीमाथि नामिबियाको विशाल जीत

काठमाडौं, ४ असोज । आइसिसी विश्‍वकप क्रिकेट लिग २ अन्तर्गत मङ्गलबार भएको खेलमा नामिबियाले विशाल जीत निकालेको छ । नामिबियाले पपुवा न्यु गिनी पिएनजीलाई १६७ रनको अन्तरले हराएको हो ।

जीतका लागि २८५ रनको लक्ष्य पछ्याएको पिएनजीले ४२ ४ ओभरमा अलआउट हुँदै ११७ रन मात्र बनाउन सक्यो । नरमन भानुआले सर्वाधिक ३८ रन बनाए । नामिबियाका बर्नार्ड स्कोल्जले ३ विकेट लिँदा जान फ्रायलिन्क र जान लफ्टी इटनले २-२ तथा रुबेन ट्रम्पलमेन र कप्तान जेरार्ड इरास्‍मसले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २८४ रन बनाएको थियो । माइकल भेन लिन्जेन ११९ रनमा अविजित रहे भने कप्तान इरास्मसले ६८ रन बनाए । पिएनजीका नर्मन भानुआले ३ तथा सेमो कामियाले १ विकेट लिए ।

जीतसँगै २१ खेलबाट २४ अंक भएको नामिबिया अंकतालिकाको पाँचौं स्थानमा यथावत् छ भने पिएनजी २३ खेलबाट ५ अंकसहित पुछारमा छ ।

यस तालिकामा नेपाल २० खेलबाट १७ अंक जोड्दै छैंटौं स्थानमा छ । सबै टोलीले ३६ खेल खेल्ने छन् । ओमानले आफ्ना सबै खेल खेलिसकेको छ र ४४ अंकसहित शीर्ष स्थानमा छ ।

यस तालिकाका शीर्ष ३ टोलीले विश्‍वकप छनौट खेल्ने छन् भने तल्ला ४ टोलीले प्लेअफ खेलेपछि मात्र छनौटमा अघि बढ्न पाउने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय