काठमाडौं वडा नं ६: कामको पहिचान भयो अब एक्सन बाँकी [फोटो फिचर]
प्रतिक भट्टकाठमाडौं, ३१ भदौ । नेपाल टेलिभिजनको पर्दामा ‘तितो सत्य’ भन्ने हाँस्य टेलिसिरियलबाट चर्चा पाएका कलाकार दिपकराज गिरीले आफ्नो क्षमतालाई ठूलो पर्दाको चलचित्र मार्फत प्रस्तुत गरे ।
उनले नेपाली कथानक चलचित्र ‘वडा नम्बर ६’लाई आफ्नो र आफ्नो टिमको सफलता वा असफलता के होला भनेर तुलना गरे । तर, संयोग नै भनौ चलचित्र सुपर डुपर हिट भैदियो । त्यो बेला चलचित्रले ५१ दिन र १०० दिन मनाउनुलाई सफल मानिन्थ्यो ।
ठीक त्यस्तै टिम अहिले काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा देखिन्छ । फिल्मको पर्दामा दिपकराज गिरीले टिमको नेतृत्व गरेका छन भने वडा नम्बर ६ मा भुवन लामा टिम लिडर छन । अर्थात भुवन वडा नम्बर-६ का अध्यक्ष हुन् ।
दिपकको टिममा जस्तै भुवनको टिममा पनि सफल हुनको लागि सशक्त साथीहरू छन् । चलचित्रमा अभिनय मात्रै हुन्थ्यो तर यहाँ फिल्डमै उत्रेर काम भैरहेको छ । दिपकको चलचित्रले १०० दिन मनाए जस्तै भुवनको टिमले पनि १०० दिन पूरा गरेको छ । उनको टिमले पदभार सम्हालेको १०० दिन पूरा गरेको अवसरमा काठमाडौं महानगरपालिका वडा नं-६ ले ‘हाम्रो बौद्ध, उज्यालो बौद्ध’ अभियान स्वरुप सडक बत्ती जडान कार्य लाई प्रथामिकतामा राखेर दैनिक जसो टोल-टोलमा पुगेर बत्ती जडान गरेको छ ।
‘आउँदै गरेको महान चाड दशैं तिहार लाई लक्षित गरी धार्मिक स्थल गुहेश्वरी हुँदै पशुपतिनाथ मन्दिरको दर्शन गर्न जाने भक्तजनहरुलाई नवरात्रको बेला सहजता होस् भनेर काम गरेका छौं’, अध्यक्ष लामाले भने- ‘बौद्धको गेटदेखि अरुणिमा खरिबोट सम्म सडक बत्ती जडान गरिसकियो’ ।
यसैगरी काठमाडौं ६ नम्बर वडाले पासाङ ल्हामु शालिक पछाडि देखि हायात होटल, टुसाल जेवियर कलेज, बौद्ध पिपलबोट, अरब बैंक जोरपाटी चोक सम्मको ढलको समस्या पनि पहिचान र समाधान सुरु गरेको छ । यो क्षेत्रमा पानी परेको बेला स्थानीयले भोगिरहेको समस्या अवगत गराउन सडक विस्तार आयोजना प्रमुखलाई स्थलगत निरीक्षण गरि सम्बन्धित ठेकेदार कम्पनीलाई समेत जानकारी र पहल गरेको छ यसैगरी टुसाल चोकदेखि अमिताभ मार्ग मंहाकाल निस्कने बाटो समेत सुधारको काम अगाडि बढेको छ ।
त्यसैगरी पानीट्यांकी महांकाल मोडमा २ वर्ष देखि वेवारिसे अवस्थामा रहेको रातो टयाङ्कर व्यवस्थापन गरी दुर्घटनाको जोखिम कम गरेको, ढलको समस्या, बाटोको खाल्डाखुल्डी पुर्ने,बिजुलीको अव्यवस्थित तारलाई व्यवस्थापन गर्दै आवश्यकता हेरी थप कार्यहरू गरिरहेको वडा सदस्य देव बज्राचार्यले जानकारी दिए । त्यसैगरी ज्ञात अज्ञात पार्क देखि रामहिटि ओरालो सम्मको बाटो कालोपत्रे गर्न प्राविधिकद्वारा नापजाँच गरिएको छ ।
हाम्रो उज्यालो अभियानअन्तर्गत बौद्ध देखि गुहेश्वरी, रामहिटी बज्र नगर हुँदै मन्डला पार्टी प्यालेस सम्म र सुबि गाउँ, दमकल हुँदै बुद्ध समाज र महाङकाल पानीट्याङ्की, सङ्गमटोल सम्म गरिएको र अझै बाँकी रहेको वडा भित्रका टोलहरुमा विस्तार गर्ने लक्ष्यसहित वडाको ७ वटै मतदान केन्द्रका स्थानीयवासीलाइ लाभ पुग्ने गरी काम गरिने वडा अध्यक्ष लामाले बताए ।
पार्किङ व्यवस्थापनको लागि बाटोमा मिनि ट्रक, भाडाको सामान बोक्ने गाडीलाई व्यवस्थित पार्किङको पहल मिलाउने र वडालाई सुन्दर बनाउने अभियान पनि हुनेछ । शान्तिनगर टोल देखि भृकुटी टोलहुदै वर्षामा आउने ढललाई केही हदसम्म व्यवस्थापन गरी नगर, टोल संरक्षण गरिएको छ ।
मुख्यगरी ६ नम्बर वडाको अहिले देखिएको मुख्य समस्या वर्षामा आउने पानी र त्यसले सिर्जना गर्ने अनियन्त्रित ढल व्यवस्थापन, भत्केको सडक, बिजुली तार र पोल अनि पार्किङ हो । यो विषयलाई अध्यन गरी माथिल्लो निकायसँग समन्वय गर्दै जनताको समस्या हल गरिने वडा नम्बर-६का अध्यक्ष सहित सम्पुर्ण टिमको बुझाइ छ ।
तस्वीरहरुः