भरतपुरलाई स्तब्ध पार्दै एपिएफ क्लब चितवन गोल्डकपको सेमिफाइनलमा
चितवन, २९ भदौ । विभागिय टोली एपिएफ क्लब चितवनको भरतपुरमा जारी चितवन गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको क्वाटरफाइनलमा आयोजक भरतपुर एफसीलाई ३-२ गोलअन्तरले हराउँदै एपिएफअन्तिम चारमा प्रवेश गरेको हो ।
एपिएफको जीतमा हरि कार्कीले दुई गोल गर्दा एक गोल नविन लामाले एक गोल गरे । भरतपुरका राज भुसाल र कमल थापा मगरले एकएक गोल गरे ।
खेलको ११औं मिनेटमा हरिले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा कमल थापाले आकर्षक गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको दुई मिनेटमै भरतपुरका राज भुसालले गोल गर्दै भरतपुरलाई खेलमा अगाडि ल्याए ।
दोस्रो हाफ सुरु भएको केही मिनेटमा हरि कार्कीले दोस्रो गोल गर्दै खेल पुनः बराबरीमा ल्याए । त्यसपछि कप्तान नविन लामाले फ्रिकिकमा प्रहार गरेको बल डिफ्लेक्ट भएर गोल भएपछि एपिएफ पुनः अगाडि आयो ।
त्यसपछि थप गोल भएनन् र एपिएफ सेमिफाइनलमा प्रवेश गर्यो । एपिएफले अब सेमिफाइनलमा मनाङ एफसीसँग प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगितामा बिहिबार दिउँसो अन्तिम क्वाटरफाइनलमा नवजनजागृति क्लब सिमरा र नेपाल आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।