हिँड्दाहिँड्दै उपेन्द्रको एक्सन

प्रतिक भट्ट

काठमाडौं, २९ भदौ । आइतबार दिउँसो २ बज्दै थियो । गोकर्णेश्वर नगरपालिका-७ नम्बर वडा र कागेश्वरी-मनोहरा नगरपालिका-६ नम्बर वडाको सिमानामा एउटा सरकारी गाडी रोकियो । गाडीबाट कोही ओर्लिनु अगाडि सडक छेउका मानिसहरू आफ्नै लयमा हिँडिरहेका थिए । सवारी आवागमनमा पनि खासै चाप थिएन ।

जोरपाटी-थलीहुदै चीनसम्म जानेगरी बनाइएको उक्त सडकमा रोकिएको गाडी कागेश्वरी-मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको रहेछ । गाडीबाट उपेन्द्र कार्कीसँगै नेपाली काँग्रेस काठमाडौं-२ का क्षेत्रीय सभापति कबिर शर्मा पनि ओर्लिए । एकाएक घर अगाडि मेयरको गाडी रोकिनु र मेयरसँगै अन्य व्यक्ति पनि झरेर बाटोको अवस्था, ढल, बिजुलीको पोल लगायत विषयमा चासो लिएर सोध्‍न थालेपछि त्यहा रहेका स्थानीय नगरवासी खुशी देखिए ।

कतिपय जनप्रतिनिधि चुनावमा भोट दिएपछि अनुहारै देखाउन नखोज्ने वा जनताको गुनासो नै नसुन्ने हुन्छन् । तर, उपेन्द्र कार्कीले जनताको गुनासो आउनु अगाडि नै जनप्रतिनिधिको कर्तव्यबोध गरेर समस्या पहिचानका लागि फिल्डमै खटिए । स्थानीयले पनि वास्तविक जनप्रतिनिधिको महसुस गर्न पाए ।

करिब २५ मिनेट त्यहाँ बिताएका नगरप्रमुख कार्कीले स्थानीयलाई दु:ख दिइरहेको दक्षिण ढोका खहरेको अध्ययन र अवलोकनसँगै खहरेले वर्षायाममा पुर्याउने क्षति र उदन्डता बारे स्थानीयबाट सुझाव सुने । त्यसपछि उनले त्यसको रोकथाम र तत्काल कार्यान्वयन गर्न सकिने विषयमा प्राविधिकसँग सल्लाह गरेर आफू अघि बढ्ने बताए ।

नगरप्रमुख कार्कीसँगै रहेका काँग्रेस क्षेत्रीय सभापति कबिर शर्माले त्यहाँको समस्या बारे आफू अझै बढी जानकार रहेको र खहरे नियन्त्रण, बाटो फराकिलो, खाल्डाखुल्डी निर्माण र अन्य भौतिक पुर्वाधारमा ध्यान दिन नगरप्रमुख कार्कीलाई आग्रह पनि गरे ।

स्थानीयको कुरा ध्यानपूर्वक सुनेपछि नगरप्रमुख कार्कीले आफुले गर्न सक्ने काम तत्काल गर्ने र सिमाना पनि पर्ने भएकोले छिमेकी गोकर्णेश्वर नगरपालिका सँग पनि समन्वय गरी समस्यालाई हल गर्ने बताए ।

उनले नगरले मात्रै गर्न नसक्ने अवस्थामा मन्त्रालय वा अन्य सरोकारवाला पक्षसँग छलफल गरी जनताको पिरमर्कालाई जतिसक्दो छिटो समाधान गर्ने बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय