जनताको चाहना बलियो काँग्रेस: महामन्त्री शर्मा

काठमाडौं, २४ भदौ । नेपाली काँग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले नेपाली जनताले अब बदलिएको काँग्रेस र बलियो काँग्रेस देख्‍न चाहेको बताएका छन् ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. बिपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा सुन्दरीजलमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले नेपाली काँग्रेसलाई बदलिएको र बलियो बनाएर अगाडि लैजाने जिम्मा अब हरेक काँग्रेस सदस्यको जिम्मेवारी भएको पनि बताए ।

जनताको साथमा काँग्रेस भन्ने अभियान चलेको बेला बिपी कोइरालालाई सम्झँदै महामन्त्री शर्माले बिपी कोइरालाबाट काँग्रेसका सबै सदस्यले लिने भनेको बिपीको आदर्श र ऊर्जा हो भन्नेमा जोड दिए । उनले बिपीको व्यक्तित्वलाई भौतिक रुपमा मात्रै बुझेर हुँदैन भन्दै विचार र संस्कार पनि सिक्नुपर्ने बताए ।

‘बिपीले छोडेर गएको विचार र आचरण हामीले व्यवहारमा लागू गर्न आवश्यक छ’, महामन्त्री शर्माले भने- ‘आफूभन्दा फरक विचार राख्नेलाई पनि मिलाएर अघि बढ्नुपर्छ भन्ने बिपिको बुझाइ थियो ।’

महामन्त्री शर्माले अब हामी केही गल्ती गरेका छौं भनेपनि निरन्तरतामा नवीनता खोज्दै सच्चिनु अनिवार्य छ भन्दै पार्टीलाई बदलिएको काँग्रेस र बलियो काँग्रेस बनाएर अगाडि बढाउने जिम्मेवारी सबै काँग्रेस सदस्यको काँधमा आएको बताए ।

काँग्रेसको घोषणापत्र लेख्‍ने कार्यको संयोजक समेत रहेका शर्माले दुरदराजको गाउँदेखि मधेस र जीवनको अनेक सपना बोकेर विमानस्थलबाट विदेश जाँदै गरेका युवालाइ पनि सम्झनुपर्ने बताए । उनले सामाजिक बिभेदलाइ समेत सम्झेर घोषणापत्रलाइ बिपिको बिचारसङ्ग जोडेर अझै सार्थक ढङ्गले लेख्न जरुरी भएको बताए । उनले काँग्रेसले घोषणा पत्र लेख्दा क्षणिक कुरामा बहकिएर होइन कम्तीमा १५ वर्षको लागि काम लाग्ने आर्थिक समुन्नति र उर्जाको घोषणा पत्र लेखिनेमा जोड दिए ।

नेपाली काङ्ग्रेसका सह-महामन्त्री बद्री पान्डेले बिपी कोइरालाले यहि ठाउँमा जेल बस्दाको प्रतीफल स्वरुप आज हामी लोकतन्त्रको उपयोग गर्न पाएको बताए । साथै बिपीले जेल बस्दा प्रजातान्त्रिक आन्दोलनमा दिएको योगदानसँगै यही ठाउँबाट साहित्यिक व्यक्तित्वको रुपमा समेत स्थापित हुने अवसर लिन सकेको बताए । उनले बिपीले असल राजनीतिक संस्कार सिकाएर गएको समेत बताए ।

अर्का सहमहामन्त्री जीवन परीयारले नेपालको भुगोल अनुसार नेपाली काङ्ग्रेसलाई हरेक क्षेत्र र क्लस्टर मिलाएर राजनीति अगाडि बढाउन सक्ने दुरदर्शी नेता बिपी कोइराला नै भएको बताए ।

यसैगरी नेपाली काँग्रेस काठमाडौ-३ का क्षेत्रीय सभापति तथा गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर सन्तोष चालिसेले काङ्ग्रेस यतिबेला फुटेर होइन जुटेर अगाडि बढ्ने अवस्था आएकोले बिपीको सिद्धान्त र प्रजातान्त्रिक विचारलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर तथा काङ्ग्रेस काठमाडौ-३ का क्षेत्रीय सचीव दिपक रिसालले बिपी कोइराला र सुन्दरीजल क्षेत्र दुवैको आ-आफ्नो महत्त्व रहेको बताउँदै बिपी कोइरालाको जीवनबाट असल राजनीतिक संस्कार सिकेको बताए ।

बिपी सङ्ग्राहलयका प्रमुख तथा काङ्ग्रेस नेता परशुराम पोख्रेलले बिपीको आदर्श र काङ्ग्रेसको विचारकै कारण आफुलाइ प्रजातान्त्रिक आन्दोलनमा लाग्ने प्रेरणा मिलेको बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय