दृढ इच्छाशक्ति लिएर वडाको समस्यासँग जुध्दै हरिभक्त
प्रतिक भट्ट
परेवान्युज
|
भाद्र २३ गते, २०७९ - ०६ः५७ मा प्रकाशित
नेपालमा ७५३ स्थानीय तह छन् । ती सबै तहमा जनताको गुनासो र कामगर्न कठिनाइ छदैछ । वडादेखि गाउँपालिका, नगरपालिका र महानगरपालिकासम्ममा कुनै न कुनै समस्या भएकै हुन्छ ।
फेरि हाम्रो जस्तो विकासको पुर्वाधार निर्माण भइ नसकेको ठाउँमा जनताको अपेक्षा बढी हुने तर महानगर, नगर र गाउँपालिकामा स्रोतको कमी हुनु स्वभाविक हो । यस्तो बेलामा चलाख र जनअपेक्षा बुझेको जनप्रतिनिधिको खोजी भएकै हुन्छ । जुन ठाउँमा असल, विकासप्रेमी र जनप्रेमी जनप्रतिनिधि निर्वाचित भएको हुन्छ जनताको अपेक्षा त्यहीँ बढी हुन्छ ।
यस्तै एक कर्मठ, विकासप्रेमी र जनताको मनमा बसेको व्यक्ति वडाअध्यक्ष निर्वाचित भएका छन् । उनी हुन कागेश्वरी-मनोहरा नगरपालिका वडा नम्बर-८ का वडा अध्यक्ष हरिभक्त पुडासैनी । निर्वाचनको बेला भएको प्रतिस्पर्धामा उनि नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष भएपनि अब उनी वडाको साझा जनप्रतिनिधि भएका छन् ।
– हरिभक्त पुडासैनी
‘निर्वाचनको परिणाम सार्वजनिक भएसँगै म पार्टीको मात्रै होइन समग्र वडाको प्रतिनिधि भएर आएको छु’, परेवान्युजसँग उनले भने- ‘अबको ५ बर्ष सम्पुर्ण वडावासी जनताको समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने र आफ्नो वडालाई नमुना बनाउने सोचमा छु’ ।
साँच्चै भन्दा हरिभक्तले जनताको काम गर्न नै आफू निर्वाचित भएको हो भन्ने भावनाका साथ काम गरेको अनुभव वडाबासीले गरेका छन् । वडामा काम लिएर आउनेलाई हुँदैन र सकिदैन भनेर समस्यालाई पन्छाउने भन्दा पनि वडा अध्यक्ष हरिभक्त चाहिँ समाधान गर्ने कुरामा दृढ देखिन्छन् ।
परिवारको राजनीतिक संलग्नता काँग्रेस भएको कारण सानै उमेरदेखि हरिभक्त पनि काँग्रेसको राजनीतिमा चासो राख्न पुगे । सानो बच्चा उमेर भएकोले २०४८ को चुनावलाई रमाइलो मात्रै मानेका हरिभक्त २०५६ को आम निर्वाचनमा पार्टीको चुनाव प्रचारमा खटेका थिए ।
हाल उनी कागेश्वरी मनोहरा नगरको वडा नम्बर ८ इकाई सभापति छन् । यो उनको दोस्रो कार्यकाल हो । पार्टीसँगै उनी सामाजिक संस्था लायन्स क्लब, तेजविनायक माविको व्यवस्थापन समिति अध्यक्ष र विभिन्न टोलसुधार समितिमा सल्लाहकार छन् ।
वडाको अध्यक्ष भएपछिका काममा चुनौतीलाई पनि उनले पहिचान गरी त्यसलाई सरल र सहज बनाउने अभियान सुरु गर्दैछन् । मुख्यगरी उनको वडामा सडक, खानेपानी र जथाभावी सडकमा भएका बिजुलीको पोल मुख्य समस्या देखिन्छ । त्यसलाई समाधान गर्न उनले वडामा झन्डै अहिले भएको १८०० धारा बाहेक थप त्यति नै आवश्यक भएको भन्दै समाधान बारे चासो दिएका छन् । केही काम समेत अगाडी बढेको र छिटोभन्दा छिटो सम्झौता गर्ने गरि काम गर्ने बताए ।
यसैगरी वडामा रहेको एउटा मात्रै सरकारी विद्यालयमा पनि भौतिक संरचना भएर पनि शैक्षिक सुधारको काम आवश्यक भएकोले त्यसको व्यवस्थापनको लागि पनि सोच भइरहेको बताए । अर्को समस्या सडक बत्ती र विद्युतको पोल सार्ने कुरालाई विद्युत प्राधिकरणसँग समन्वय भइरहेको उनले बताए । तर विद्युतले समस्यालाई गम्भीर रुपमा लिन नखोजेको वा नसकेको कारण अझै केही समन्वय बाँकी रहेको उनको बुझाइ छ ।
त्यसैगरी वडामा सामुदायिक भवन बन्ने खालका खुला ठाउँ कम भएकोले त्यसको लागि पनि सामुदायिक भवन माग गरेको उनको भनाइ छ । त्यस्तै शान्ति सुरक्षाको लागि अस्थायी चौकीको आवश्यकता महसुस भएको र हाल काँडाघारी प्रहरीले दिने सेवा स्वागतयोग्य भएपनि त्यहाँदेखि आउदा ढिलो हुने र समयमै काम नहुने कुरालाई समेत समन्वय गरिने बारे आफुले सोचेको उनको भनाइ छ ।
खासगरी पशुपति क्षेत्रको खाली जग्गामा असामान्य गतिविधि हुने तर प्रहरी कार्यालय नजिक नहुँदा आइपर्ने समस्यालाई दृष्टिगत गरि आगामी दिनमा समाधान खोजिने उनले बताए ।
उनको बुझाइमा आगामी ५ वर्षभित्र सडक, खानेपानी, बिजुली, प्रहरी चौकी, सामुदायिक भवन जस्ता काम सम्पन्न गर्न सके वडाबासीको चाहना अनुसारको जनप्रतिनिधि बन्न सकिने र जनअपेक्षा अनुसार अगाडि बढ्न सकिने छ ।