
उपेन्द्रका १०० दिन: सुदृढ नगर, पारदर्शी काम
प्रतिक भट्टकाठमाडौं, २२ भदौ । काठमाडौंको कागेश्वरी-मनाेहरा नगरपालिकालाई सुदृढ र समृद्ध बनाउने अभियानमा लागेका नवनिर्वाचित मेयर उपेन्द्र कार्कीले आफ्नो १०० दिनको काम र त्यसका उपलब्धि सार्वजनिक गरेका छन् ।


मेयर कार्कीले पत्रकार सम्मेलन गरी आफु र आफ्नो टिमले गरेका कामको जानकारी दिएका हुन् । साथै उनले निर्वाचनका बेला भनिएको ‘सुदृढ नगर, दृढ उपेन्द्र’ भन्ने नारा अनुसार नै आफू सबैसँग मिलेर नगरको विकासमा लाग्ने समेत बताए ।

आफू सहित निर्वाचित टिमले पदबहाली गरेपछि भएका १०० दिनका काम र याेजना सार्वजनिक गर्न उपस्थित भएका कार्कीले धेरै कामको सुखद सुरुवात भएको र त्यसलाई पूरा गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे । गत जेठ ९ गते मेयर कार्की र निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेका थिए।
नगरपालिकाले सामाजिक विकासलाई मुख्य प्राथमिकता निर्धारणा गरी शिक्षा, स्वास्थ्य, खेलकुद, जेष्ठ नागरिक, युवा तथा महिला सशक्तिकरण, उद्ममशीलताका साथै भाैतिक पूर्वाधारकाे क्षेत्रमा भएका कार्यप्रगतिकाे बारेमा मेयरले प्रष्ट पारेका थिए । उनले नगर शिक्षा ऐन २०७५ काे संसाेधन गरी शिक्षा ऐन अनुकूल बनाउँदै एक शिक्षक एक ल्यापटप कार्यक्रम अन्तर्गत सामूदायिक विद्यालयका २०९ शिक्षकलाई ल्यापटप वितरण गरिएकाे जानकारी दिए ।
मेयरसँग जेष्ठ नागरिक घरदैलाे निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत सबै वडाका जेष्ठ नागरिकहरूकाे स्वास्थ्य चेकजाँच गर्न सुरू गरेकाे नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरूकाे पनि निःशुल्क रूपमा नियमित स्वास्थ्य परीक्षण सुरू गरिएकाे पनि उनले जानकारी दिए । नगरले वृहत्त एकीकृत खानेपानी कार्यक्रम अन्तर्गत स्वच्छ खानेपानीकाे धारा प्रत्येक घरमा पुर्याउने कार्य अघि बढाइएकाे र चालु आर्थिक वर्षभित्र ५ हजार ५ सय घरधुरीलाई खानेपानी वितरण विस्तार गरिने प्रतिबद्धता जनाए ।
त्यसैगरी पूर्वी काठमाडाैं नयाँ शहरी विकास आयाेजनालाई अघि बढाउँदै अव्यवस्थित हाउजिंग, प्लटिङकाे अनुमति स्थगित गरी व्यवस्थित शहरीकरणकाे कार्यलाई पनि अघि बढाउने तयारी भएकाे उनले सो अवसरमा जानकारी दिए ।
देशका धेरैजसो महानगरपालिका र नगरपालिकामा फाेहाेर व्यवस्थापन प्रमुख समस्या बनिरहेकाे सन्दर्भमा कागेश्वरी-मनाेहरा नगरपालिकाले पनि उपयुक्त प्रविधि प्रयाेग गरी नगरकाे फाेहाेर नगरभित्रै व्यवस्थापन गर्ने बारे दीर्घकालीन योजना अगाडि बढाउने उनले बताए ।
नगरपालिकाकाे गाैरवकाे आयाेजनाकाे रूपमा नगरपालिकालाई खेलकुद नगरीकाे रूपमा विकास गर्न,धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेकाले कागेश्वरी धामकाे वृहत्त विकासकाे कार्ययाेजना अघि बढाइएकाे पनि उनले सो अवसरमा जानकारी दिए ।
जेष्ठ नागरिकलाई सम्मान स्वरूप चाडपर्व खर्च १ हजार उपलब्ध गराउने व्यवस्था गरिएकाे, वर्षा र बाढीका कारण क्षति भएकाे बाली पशुधनका लागि किसानहरूलाई राहत रकम वितरण गरिएकाे पनि मेयर कार्कीले जानकारी दिए ।
यसैगरी किसानहरूले प्राप्त गर्ने सुविधा व्यवस्थित गर्न किसान कार्डकाे शुरूवात गरिएकाे पनि उनको प्रगति बिवरणमा उल्लेख छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भाेजराज घिमिरे,नगरको उपप्रमुख शान्ता थापा, वडाध्यक्ष र सदस्यको उपस्थिति रहेकाे थियाे ।
Comments

