गोरखामा बाबुराम भट्टराई र चक्रे मिलन भिड्ने !

काठमाडौं, २० भदौ । नेकपा एमालेले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखा-२ बाट मिलन गुरुङ (चक्रे) सहित तीन जनाको नाम सिफारिस गरेको छ ।

सो क्षेत्र नेपाल समाजवादी पार्टीका अध्यक्षतथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले निर्वाचन जित्दै आएको क्षेत्र हो । भट्टराईले आफू यो पटक पनि गोर्खा-२ मै गठबन्धनको साझा उम्मेदवार हुने बताइसकेका छन् ।

चक्रे मिलन विगतमा विवादास्पद गतिविधिहरुमा संलग्न रहँदै आएको भनिएका व्यक्ति हुन । तर, पछिल्लो समय उनी समाजसेवामा सक्रिय छन् । काठमाडौको ठमेल क्षेत्रमा व्यावसायिक प्रभाव जमाउन चक्रे मिलन र राजिव गुरुङ अर्थात दिपक मनाङ्गेको चर्चा हुन्थ्यो । मनाङ्गे हाल गण्डकी प्रदेशको मन्त्री छन् । उनको निर्वाचन क्षेत्र मनाङ हो ।

एमालेले सिफारिस गरेको मिलन चक्रे गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर-५ छोप्राकका हुन् । एमाले निर्वाचन क्षेत्र नम्बर-२ को क्षेत्रीय समितिको बैठकले चक्रेसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम पनि सिफारिस गरेको हो ।

यी नाम क्षेत्रले जिल्ला कमिटीमा सिफारिस गरी पठाएको छ। क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ जिल्ला अध्यक्ष प्रेम गुरूङको नाम प्रदेश र प्रतिनिधि सभा क्षेत्रतर्फ नै सिफारिस भएको छ।

यस्तै प्रदेश सभा क्षेत्र (क) मा राजु राना, वसन्तकुमार श्रेष्ठ, गम्भीरा बराकोटी सिफारिस भएका छन् । प्रदेश सभा क्षेत्र (ख) मा कमल दानी र वसन्त गुरूङको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ।

यस्तै क्षेत्र नम्बर १ बाट गण्डकी प्रदेशका पूर्वमन्त्री रामशरण बस्नेत, आरसी लामिछाने, कृष्ण नेपालीको नाम प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएको छ। समानुपातिकतर्फ भने क्षेत्र नम्बर १ बाट विमला चेपाङको नाम सिफारिस भएको एमाले गोर्खाले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय