क्रियाशील सदस्यता लिएको ३३ वर्षपछि अवसर खोज्दै गीता
देवी पोखरेल
परेवान्युज
|
भाद्र १७ गते, २०७९ - ०७ः२७ मा प्रकाशित
नेपाली राजनीतिमा कति वर्ष पार्टीमा योगदान गरेपछि सांसद बन्न सकिएला ? यो प्रश्न हेर्दा सामान्य र सरल लागेपनि यसको ठ्याक्कै जवाफ पाउन भने गाह्रो छ । त्यसमाथि दशकौंदेखि राजनीतिमा लागेर अवसर नपाएका नेता कार्यकर्ता सबै पार्टीमा छन् ।
अझै नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमाले जस्ता पुराना पार्टीमा त त्यस्ता कैयौं नेता कार्यकर्ता छन् जसले लामो समय राजनीतिमै बिताएर पनि पार्टीले कहिल्यै न्याय गर्न सकेको छैन ।
तर, लामो समय पार्टीमा योगदान गरेर पनि अवसर नपाउने कुराभन्दा पनि बढी चाहिँ कहिलेकाही पार्टी भित्रैबाट कामको मुल्यांकन नहुँदा चाहिँ मन कुँड्याउने रहेछ । अवसर पाउने ठाउँ थोरै र योग्य साथीहरू धेरै हुँदा पद प्रतिष्ठा नपाउन सकिन्छ वा पालो पर्खनुपर्ने हुनसक्छ । तर, प्रजातान्त्रिक आन्दोलनमा लामो समयदेखि क्रियाशील र असल सिपाही जस्तो भएर वर्षौंदेखि पार्टी काममा लागेको कुराको पार्टीकै विभिन्न निकाय र साथीहरूबाट मुल्यांकन चाहिँ हुनुपर्छ भन्ने सबैलाई लागेको हुन्छ ।
– गीता सिंखडा
नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवं बागमती प्रदेशकी निर्वाचित सदस्य गिता सिंखडाको राजनीतिक जीवनलाई बुझ्दा पनि हामीले त्यस्तै अवस्था देख्यौं । पार्टी राजनीतिमा झन्डै ३३ वर्ष बिताएकी सिंखडाको राजनीतिक जीवन संघर्षपुर्ण छ । २०४६ सालको पञ्चायत ढाल्ने जनआन्दोलनदेखि नै आफुलाइ नेपाली काँग्रेसको राजनीतिमा सक्रिय पारेकी गिताले २०४८ मा पार्टीको क्रियाशील सदस्यता लिएर तात्कालिन अवस्थामा नेता दमननाथ ढुंगानाको चुनाव प्रचारमा हिँडेकी थिइन् ।
गिताको राजनीतिमा सुरुवातको राजनीतिक गुरु चाहिँ आफ्नै बुबा विष्णुप्रसाद सिंखडा थिए । २०४६ सालमा पञ्चायत फालेर बहुदलीय व्यवस्था ल्याउन सुरु भएको आन्दोलनको तयारी मिटिङ उनको घरमा पनि बसेको थियो । केही नेताहरु घरमा आउने जाने गरेको देखेर जनआन्दोलनको तयारी भैरहेको थाहा पाएकी गिताले त्यसपछि आफुलाइ पनि राजनीतिमा होमिन । उनका बुबा विष्णुप्रसाद त्यतिबेला नयाँपाटी गाउँ पञ्चायतको वडा अध्यक्ष थिए ।
बहुदल आएपछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा दमननाथ ढुंगानाको प्रचारमा इकाई सचीव भएर गिताले काम गरिन । त्यसको केही समयपछि उनी पार्टीमा क्षेत्रीय सदस्य भइन् । पुन्य वैद्य सभापति हुँदा दमननाथ ढुंगाना, नरोत्तम वैद्य, चक्रबहादुर ठकुरीसँगै उनी पनि सदस्य भएकी हुन् । त्यसअगाडि नै इकाइमा दुई कार्यकाल सचिव चलाइसकेको कारण सानै उमेरमा उनी परिपक्व नेतृ भइसकेकी थिइन् । त्यसपछि नेपाली काँग्रेस विभाजित भई हाल काँग्रेस सभापति एवं प्रधानमन्त्री रहेका शेरबहादुर देउवाको नेतृत्वमा नेपाल प्रजातान्त्रिक काँग्रेस गठन भएपछि गिता त्यसको क्षेत्रीय सचिव भएर काम गरिन् ।
त्यो समय राजनीति मात्रै गरेर घर व्यवहार चल्न सम्भव थिएन । उनले राजनीतिसँगै शिक्षण पेशा पनि सुरु गरिन् । ‘त्यो बेला मलाइ राजनीति रहर र जागिर बाध्यता जस्तो बन्यो’, उनले परेवान्युजसँग भनिन् । उनले राजनीतिलाई पनि अगाडि बढाउँदै लगिन् र घर नजिकैको रामजानकी आधारभुत निमाविमा २० वर्ष शिक्षकको जागिर पनि खाइन ।
जागिरकै समय नेपाली काँग्रेसको राजनीतिसँगै नेपाल शिक्षक संघमा पनि उनी आबद्ध भइन । २०६२/०६३ को दोस्रो जन आन्दोलनमा सहभागी हुँदा अझै राजनीतिमा खरो उत्रन पुगेकी गिताले नेपाल शिक्षक संघको बागमती प्रदेश उपाध्यक्ष भएर पनि काम गरिन् । उनको यो राजनीतिक सक्रियता र पृष्ठभुमि बुझ्ने नेता र अग्रजले पक्कै मुल्यांकन गर्नुहोला भनेर उनले २०७४ सालको स्थानीय निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको उपमेयर हुन दाबी राखिन । उनको करिब-करिब टिकट पाउने अवस्था पनि रह्यो तर अन्तिम अवस्थामा कसरी टिकट पाइनन् त्यो अहिलेसम्म पनि रहस्यमै छ ।
आफुले टिकट नपाएर पनि पार्टीलाई जिताउन लागिपरेकी गिताले थप ५ वर्ष कुरेर २०७९ को स्थानीय निर्वाचनमा पनि त्यही नगरपालिकाको सोही पदमा दाबी गरिन् । तर यसपटक पनि उनको टिकट खोसियो । ‘मलाइ दोस्रोपटक पनि किन अन्याय गरियो अझै बुझेकी छैन’, उनले भनिन- ‘मैले पद पाइनँ भनेर पार्टीको काम र जिम्मेवारीबाट कहिल्यै पनि पछि हटिन तर पटकपटक अन्यायमा चाहिँ परिरहे’ ।
हाल गिताले काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेश सभा(ख) बाट प्रत्यक्षमा उठ्ने दाबीसहित निवेदन दिएकी छन् । सायद उनलाई पार्टीले यसपटक न्याय गर्छ भन्ने लागेको छ । ‘हो, मैले यसपटक आफुलाइ काठमाडौ क्षेत्र नम्बर-३ (ख) बाट उम्मेदवार हुने दाबी राखेको छु’, उनले भनिन्- ‘सोही अनुसार मैले आफ्नो इच्छा खुलाएर निवेदन पनि दिएको छु । आशा छ मलाई पार्टीले न्याए गर्छ’ ।