हालान्डको ह्‍याट्रिकमा सिटीको फराकिलो जीत

काठमाडौं, १६ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले फराकिलो जीत हात पारेको छ । सिटीले नटिङहाम फरेस्टलाई ६-० गोलअन्तरले हराएको हो ।

सिटीको जीतमा नर्वेली स्टार एर्लिङ हालान्डले ह्‍याट्रिक गर्दा जुलियन अल्भारेजले २ र जोआवो क्यान्सेलोले १ गोल  गरे ।

खेलको १२औं मिनेटमा हालान्डको गोलमार्फत घरेलु टोली सिटीले अग्रता लिएको थियो । २३औं मिनेटमा हालान्डले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ३८औं मिनेटमा उनले ह्‍याट्रिक पूरा गर्दा सिटी पहिलो हाफमै ३-० ले अघि बढ्यो ।

दोस्रो हाफको ५०औं मिनेटमा क्यान्सेलोले गोल गरे भने ६५औं र ८७औं मिनेटमा अल्भारेजले गोल गरेपछि सिटी ६-० ले विजयी भयो ।

यस जीतसँगै सिटी ५ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ भने पराजित नटिङहम फरेस्ट ४ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

गएराति नै भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई २-१ ले हराउँदै लगातार पाँचौं जीत निकाल्यो । जीतसँगै १५ अंक भएको आर्सनल पनि शीर्षस्थानमा यथावत् छ ।

अन्य खेलमा लिभरपुलले न्युकासललाई २-१ ले हराउँदा बर्नमाउथ र वुल्भ्सले गोलरहित बराबरी खेले ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय