नायिका रेखा थापा मोरङबाट चुनाव लड्ने

काठमाडौं, १५ भदौ । नेपाली चलचित्रको हिम्मतवाली नायिका भनेर चिनिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सदस्य रेखा थापा मोरङबाट चुनाव लड्ने भएकी छन् ।

राप्रपाले मोरङको क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा उम्मेदवार बनाउने गरी रेखा थापाको सिफारिस गरेको छ । रेखाको जन्मस्थान मोरङ क्षेत्र नम्बर-३ अन्तर्गत सुन्दरहरैंचा हो । हाल उनी मोरङमै पार्टीको कार्यक्रममा सक्रिय छिन् ।

चलचित्र निर्माता छवि ओझासँग सम्बन्ध तोडेपछि हालै उनले जाजरकोटको युवासँग विवाह गरेकी छन् । यदि राप्रपा र एमाले तालमेल भएमा रेखाले जित्‍ने ग्यारेन्टी जस्तै छ । यो क्षेत्र नेकपा एमालेको राम्रो पकड भएको क्षेत्र हो ।

नेकपा एमालेका नेता भानुभक्त ढकालको क्षेत्र भएकोले मोरङ-३ एमालेले लिएर रेखालाई मोरङ-६ मा उठाउन एमालेका केही नेताले सुझाव दिएको स्रोतको दाबी छ । मोरङ-६ लालबाबु पण्डितको क्षेत्र हो । यहाँ गठबन्धनबाट काँग्रेस नेता डा.शेखर कोइराला उम्मेदवार बन्नेछन् ।

मोरङ-३ नेपाली काङ्ग्रेसका नेता तथा मेडिकल कलेजका संचालक सुनिल शर्मा गठबन्धनबाट उम्मेदवार बन्न सक्छन् । २०७४ मा शर्मा झिनो मतले पराजित भएका थिए । उम्मेदवार सिफारिस बारे रेखाले पुष्टि गर्दै मोरङ आफ्नो घर भएकोले मोरङको जुन क्षेत्रबाट पनि उम्मेदवार बन्न तयार रहेको बताइन ।

‘हो म यसपटक चुनाव लड्ने तयारीमा छु’, रेखाले परेवान्युजसँग भनिन्- ‘मोरङ मेरो घर पनि हो, पार्टीले पनि यहीँबाट सिफारिस गरेको छ, म उम्मेदवार बन्छु’ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय