छाडा बोल्ने र गिफ्ट भन्दै पैसा माग्‍ने ठाउँ किन बन्दैछ टिकटक ?

परेवान्युज टिप्पणी

अहिलेको सबैभन्दा लोकप्रियमध्येको एउटा मोबाइल एप हो ‘टिकटक’ । सुरुमा ‘म्युजिकल्ली’को नामबाट मानिसको संजालमा पुगेको मनोरञ्जनात्मक एप अहिले नाम फेरेर ‘टिकटक’ बनाइएको हो । पछिल्लो समय यही टिकटक मान्छेको लागि मनोरञ्जनको साधन मात्र नभएर आय आर्जनको स्रोत समेत बन्न पुगेको छ ।

तर, मनोरञ्जनको नाममा छाडा डान्स र भद्दा गाली अनि आयस्रोतको नाममा भिख माग्‍ने ठाउँ बन्दै गएको छ टिकटक । टिकटककै कारण कतिपयको घरबार जोडिएको छ भने कतिपयको घरबार बिग्रेको पनि छ ।

साँच्चै भन्दा टिकटकले समाजमा केही सकारात्मक कुरा दिएपनी धेरै चाहिँ विकृती ल्याएको छ । त्यसैले विश्वका केही देशमा टिकटक चलाउन प्रतिबन्ध छ । नेपालमा चाहिँ जति विकृती भएपनि न सरकारले नियमन गरेको छ न नियन्त्रण र प्रतिबन्ध नै ।

सरकारको नियमनकारी निकायको कमजोरीलाई फाइदा उठाउँदै टिकटकमा लाइभ बसेर पैसा माग्‍ने र छाडा बोलेर समाज भड्काउने हरु पनि छन् । नाम चलेका कलाकार, समाजमा चिनिएका समुहका जिम्मेवार सदस्यले पनि टिकटकमा छाडा बोल्ने, अङ्ग प्रदर्शन गर्ने, छाडा नाम राख्‍ने र लाइभ बोलाएर बार्गेनिङ गर्ने गरेका छन् ।

खासगरी भाइरल हुने नाममा केही महिलाहरु संवेदनशील अंग प्रदर्शन गर्ने र फलोअर्स बढाउन भन्दै अनावश्यक छाडा कुरा गर्ने गरेको भेटिन्छ । त्यस्तै पैसा कमाउने लोभमा विदेश गएका नेपाली दाजुभाइलाई नै गिफ्ट देऊ, फुल देऊ, चस्मा लगाइदेउ, गाडी, प्लेन देऊ भनेर चिच्याइरहेका हुन्छन् ।

साँच्चै भन्‍ने हो भने टिकटकबाट केही व्यक्तिबाहेक धेरै जसो सकारात्मक कुरालेभन्दा नकारात्मक र छाडा, अश्लील र भद्दा कुराले भाइरल बनेका छन् । जति छिटो भाइरल त्यति नै करियर ध्वस्त पनि भएका छन् ।

सरकारको निगरानी र कडा कानुनको कारण विश्वका केही देशमा राम्रो बजार बनाउन सफल भएपनि नेपालमा भने टिकटकले अधिक स्वतन्त्रताले गर्दा विकृती र विसङ्गती भित्राउँदै लगेको छ । टिकटक बनाएर भाइरल हुने उदेश्यले अरुको नक्कल गर्दा ज्यान समेत गएको छ भने टिकटकमै चिनेर कतिले श्रीमान र श्रीमती र बच्चालाई छाडेर भागेका पनि छन् ।

त्यसैले नेपालमा टिकटकलाई बन्द गर्नुपर्ने देखिन्छ वा चलाउन दिने हो भने निगरानी र गलत गर्नेलाई सजायको व्यवस्था हुन आवश्यक छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय