निर्वाचनमा आ-आफ्नो दाबी, काठमाडौं- ३ मा को बलियो ?
काठमाडौं, ११ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँडमा सहमति हुन बाँकी रहेपनि टिकट दाबी गर्ने उम्मेदवार भने थपिँदै गएका छन् ।

यसअघि हेभिवेट नेताको रुपमा खासै चर्चा नपाएको काठमाडौं क्षेत्र नम्बर- ३ अहिले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आरजु राणाको नामले समेत चर्चामा छ ।

नागरिकता विधेकका कारण अफ्ट्यारोमा परेको अवस्थामा राष्ट्रपति भण्डारी राजिनामा दिएर पुनः पार्टी राजनीतिमा सक्रिय हुने र त्यसो भएमा काठमाडौं- ३ बाट प्रतिनिधिसभा चुनाव लड्न सक्ने अड्कल गरिएको छ ।
यद्यपि रास्ट्रपतिको मर्यादाक्रम र चुनाव लड्ने कुरा मेल खादैन । स्रोतका अनुसार राष्ट्रपति आफू नउठेपनि छोरी उषा किरणलाई ल्याउन सक्ने देखिन्छ । उषाकिरणले समेत अनिक्षा देखाएमा कृष्ण राई निर्विकल्प एमालेबाट उम्मेदवार हुनेछन् ।
यता, नेकपा माओवादी केन्द्रले पनि यो क्षेत्र दाबी गरेको छ । मत कम भएपनि चर्चित अनुहार ल्याएर माओवादीले काठमाडौं-३ दाबी गर्नेबारे छलफल भएको माओवादी केन्द्रका एक नेताले बताए । माओवादीले यो क्षेत्रमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ल्याउन सक्ने माओवादी स्रोतको दाबी छ । कुलमानले इच्छा नदेखाएको अवस्थामा भने माओवादीले यो क्षेत्र नै दाबी नगर्ने एक नेताले परेवान्युजलाई बताए ।
यता नेपाली काँग्रेसमा पनि प्रधानमन्त्री पत्नी आरजु राणालाई काठमाडौ-३ मा ल्याउन सक्ने हल्ला चलाइएको छ । तर, यो विषयमा काँग्रेसले आधिकारिक केही बोलेको छैन । आरजु राणाको समेत प्रतिक्रिया आउन बाँकी छ । आरजु राणा कन्चनपुर छाडेर काठमाडौं आउने सम्भावना कम भएकोले यो क्षेत्रमा काँग्रेसले केन्द्रीय सदस्य अम्बिका बस्नेत, महसमिति सदस्य हरिबोल भण्डारी र गोकर्णेश्वरका प्रथम मेयर तथा क्षेत्रीय सभापति सन्तोष चालिसे मध्य एकलाई टिकट दिनेछ ।
काठमाडौं-३ मा गएको स्थानीय निकायको चुनावमा प्राप्त मत हेर्दा काँग्रेस बलियो देखिन्छ । नेपाली काँग्रेसले १५ हजार ७ सय ९५ मत पाएको छ भने एमालेले १४ हजार ८ सय ७६ मत पाएको छ ।
यसैगरी सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रले १ हजार ७ सय ३० र नेकपा एकीकृत समाजवादीले १ हजार ५६ मत पाएको देखिन्छ । यसैगरी राप्रपाको मत १ हजार ३ सय १४ र जसपाको जम्मा ८७ मत छ ।
यसरी हेर्दा सत्ता गठबन्धनको मत १८ हजार ६ सय ६८ देखिन्छ भने एमाले र राप्रपा मिलेको अवस्थामा १६ हजार एक सय ९० हुनेछ । यद्यपि राप्रपा र एमाले गठबन्धन गर्ने विषय अझै टुंगोमा पुगेको छैन ।