हङकङ लगातार दोस्रोपटक एसिया कप क्रिकेटमा छनौट

काठमाडौं, ९ भदौ । हङकङको क्रिकेट टोली युएईमा हुने एसिया कपका लागि छनौट भएको छ । बुधबार भएको जित्‍नैपर्ने खेलमा हङकङले युएईलाई ८ विकेटले हराउँदै एसिया कपमा लागि छनौट भएको हो ।

दुवै टोलीका लागि जित्‍नैपर्ने दबाब थियो । अंकतालिकामा कुवेतभन्दा अगाडि जान युएईलाई विशाल अन्तरको जीतको आवश्यक थियो भने हङकङ सामान्य जीतले पनि छनौट हुन्थ्यो ।

जीतका लागि पाएको १४८ रनको लक्ष्य हङकङले १९ ओभरमा २ विकेट गुमाएर भेट्टायो । यासिम मुर्ताजाले ५८ रन बनाए भने कप्तान निजाकात खानले ३९ तथा बाबर हायात ३८ रनमा अविजित रहे । जुनेद सिद्दीकी र बासिल हामीदले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९.३ ओभरमा अलआउट हुँदै १४७ रन बनाएको थियो । सिपी रिजवानले सर्वाधिक ४९ रन बनाएका थिए भने जवार फरिदले ४१ रन बनाए ।

हङकङका एहसान खानले ४, आयुष शुक्लाले ३, एजाज खानले २ र यासिम मुर्ताजाले १ विकेट लिए ।

हङकङले लगातार दोस्रोपटक एसिया कप खेल्न लागेको हो । यसअघि २०१८ मा भएको एकदिवसीय फर्म्याटको एसिया कप खेलमा हङकङले भारतलाई झन्डै पराजित गरेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय