पर्दा पछाडिका असली राजनीतिक हिरो सोनम

कहिलेकाहीँ लाग्छ जीवन नै चलचित्र हो । लाग्ने मात्रै होइन भोगाइ पनि ठ्याक्कै चलचित्रका पात्रसँग मिल्दोजुल्दो भैदिन्छ । अनि कहिलेकाहीँ फेरि भोगेको कथा राजनीति जस्तो पनि लाग्छ । हेर्दा आफ्नै कहानी आफैंलाई गज्जब पनि लाग्छ र निराश पनि लाग्न सक्छ । तैपनि जसोतसो चलचित्र सकिए जस्तै जीवन भोगाइ पनि एक दिन ‘द इन्ड’ भइहाल्छ ।

अहिले नेपाली राजनीति र राजनीति गर्ने कतिपय नेता पनि चलचित्रको कथा र पात्र जस्तै पनि देखिन्छन् । उनका अभिनय त झन् कहिलेकाहीँ ठ्याक्कै चलचित्रको असली पात्रको भन्दा खतरा भइदिन्छ । चलचित्रमा दर्शक झुक्किए जस्तै राजनीतिमा नेताका अभिनय देखेर आफ्नै कार्यकर्ता झुक्किन्छन् ।

तर, आज परेवा न्युजले यस्ता पात्रलाई भेट्टाएको छ कि जसको वास्तविक जीवन नै राजनीति र चलचित्र क्षेत्रमा समर्पित छ । उनी राजनीतिलाई पनि माया गर्छन् र चलचित्रलाई पनि माया गर्छन् । उनको विचार पनि गज्जबको छ । उनी नेपाली चलचित्र पनि विश्‍व बजारमा प्रतिस्पर्धामा जाने खालको बनाउनुपर्छ भन्छन् र राजनीति पनि अब क्षमता र निष्ठावान् नेताको हातमा दिएर विश्वको अगाडि समृद्ध देश बनाउनुपर्छ भन्छन् ।

राजनीति र चलचित्र क्षेत्र दुवै सुध्रेको देख्‍न चाहने ती युवा हुन नेपाल चलचित्र निर्माता संघका सदस्य तथा नेपाली काँग्रेस बागमती प्रदेश महाधिवेशन प्रतिनिधि सोनम लामा । काठमाडौं महानगर-६ बौद्ध निवासी लामा राजनीति र चलचित्र क्षेत्रमा चिनिएको नाम हो ।

-सोनम लामा

२०४६ सालको प्रजातान्त्रिक आन्दोलनपछि बहुदलीय व्यवस्थामा नेपाली काँग्रेसको कार्यकर्ता भएर राजनीति सुरु गरेका लामाले २०५२ पछि नेपाली चलचित्र क्षेत्रमा पनि पाइला अगाडि बढाए । बौद्ध क्षेत्रमा सिद्धार्थ हाइभिजन हल र टुसाल नजिकै पृथ्वी फिल्म हलसँग जोडिएका सोनमले चलचित्र निर्माण, वितरण र प्रदर्शनसम्मको अनुभव लिएका छन् ।

सिद्धार्थ हल सञ्चालन र पृथ्वी हलको म्यानेजर भएर पनि काम गरेका सोनमले केही चलचित्रमा लगानी समेत गरे । अहिले पनि चलचित्र निर्माता संघको सदस्य रहेका लामाले हुर्रे भन्ने चलचित्रमा लगानी गरे भने केही चलचित्र वितरणको जिम्मा पनि लिए । चलचित्रमा ध्यान भएपनि उनको भित्री मनमा राजनीति दौडिरहेको थियो । त्यसैले उनी बौद्ध क्षेत्रमा राजनीतिसँगै समाजसेवाको काममा पनि लागिपर्न थाले ।

पारिवारिक पृष्ठभुमि काँग्रेस भएकोले र साथीहरू पनि प्रायः काँग्रेसमै आबद्ध भएका कारण उनले नेपाली काँग्रेसको राजनीति पनि फिल्मी शैलीमा गर्न थाले । उनको राजनीति गर्ने तरिका अरुको भन्दा फरक किन भयो भने उनी आफू जिम्मेवार पदमा बस्नु भन्दा साथीहरूलाइ जिम्मेवारीमा पुर्याउन पर्दा पछाडि बसेर सघाउन थाले ।

राजनीतिसँगै उनको सामाजिक र धार्मिक क्षेत्रमा पनि रुचि बढ्न थाल्यो । उनी बौद्धनाथ क्षेत्र विकास समितिको पहिले सदस्य-सचिव र दोस्रोपटक कार्यकारी निर्देशक भएर काम गरे । धार्मिक संस्थासँगै उनी बौद्ध भेट्रान क्लबको पनि हाल उपाध्यक्ष छन् । त्यसैगरी तामाङ कल्याण गुठीको सदस्य र नेपाली काँग्रेसको बागमती प्रदेश महाधिवेशन प्रतिनिधि छन् । सोनमले बौद्ध ड्रागन क्लब, बौद्ध युवा क्लब मार्फत पनि सामाजिक कामहरूमा आफुलाई सधैं सक्रिय गराउँदै लगे ।

हाल सोनम बौद्ध क्षेत्रमा मात्रै होइन नेपाली काँग्रेसको राजनीतिमा राम्रोसँग भिजेका छन् । पार्टीको आदर्श, सिद्धान्त, पद्धति र अनुशासनमा उनी अडिग छन् । कुनै कुराले पनि पार्टी बदनाम नहोस् र नेपाली काँग्रेस जनताको बीचमा लोकप्रिय बनाउन जस्तोसुकै कदम उठाउन पनि पछि पर्नुहुन्न भन्ने मान्यता सोनमको छ । कुनैबेला पार्टीको माथिल्लो निकायले चित्तबुझ्दो कुरा गर्न नसक्दा साथीहरूले पार्टी ठिक भएन वा व्यक्ति ठीक भएन भनेर टिप्पणी गरेकोप्रति पनि सोनम चिन्ता व्यक्त गर्दछन ।

उनी कुनैपनी पार्टी सदस्य पनि पार्टी भन्दा बाहिर नजाओस् र पार्टी पनि बदनाम नहोस भन्ने मा जहिले दृढ देखिन्छन् । ‘म पार्टीमा अगाडि हुन्छु वा पछाडि हुन्छु भन्ने ठूलो कुरा होइन’,  सोनम भन्छन्- ‘मुख्य कुरा नेपाली काँग्रेस जनतामा लोकप्रिय हुँदैछ कि छैन भन्ने कुरा हरेक पार्टी सदस्यदेखि नेताले ख्याल गर्नुपर्ने हुन्छ ।’

सोनमलाई पद लिनु वा दिनुसँग पनि खासै लोभ र मतलब छैन । पार्टीमा सबैले अवसर पाउनुपर्छ तर, काम र क्षमताको आधारमा मुल्यांकन गर्ने परिपाटीको विकास भयो भने यो सम्भव छ भन्ने उनको तर्क छ । अर्कोले कति संघर्ष गरेर आयो, पार्टीमा कति योगदान दियो भन्‍ने नदेख्‍ने तर आफूसँगैको साथी राजनीतिमा माथि पुग्यो भन्‍ने देखेर रिस वा डाहा गरेर मात्रै पनि राजनीतिमा सफल हुन नसकिने उनको भनाइ छ ।

‘देशमा लोकतन्त्र ल्याएका छौं भन्दैमा वा पार्टीमा बोल्न पाइन्छ भन्दैमा बोल्दै हिँड्ने कुरा हुँदैन’, उनी भन्छन्- ‘मुख्य कुरा पार्टी निर्देशनमा रहने कि नरहने ठूलो कुरा हो । पार्टीको पद्धति बुझ्नुपर्छ, पार्टीभित्र नैतिकता र जिम्मेवारीको कुरा पनि हुनुपर्छ ।’

चलचित्रमा पर्दा पछाडिको हिरो जस्तै राजनीतिमा पनि सोनमले देखेको कुरा के हो भने ‘मैले जित्छु भन्नुभन्दा यी साथीहरूलाई अगाडी बढाउदा सहि हुन्छ, न्याय हुन्छ, जित्न सकिन्छ भन्ने हुनुपर्छ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय