काठमाडौंबाट दुई दर्जनबढी बन्दकर्ता पक्राउ

काठमाडौं, ७ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित अन्य तीन पार्टीले आयोजना गरेको नेपाल बन्दको क्रममा जबर्जस्ती बन्द गराउने र केही सवारी साधन तोडफोड गर्नेलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

बन्द गराउन सडकमा निस्केका उनीहरुलाई प्रहरीले राजधानीको विभिन्‍न ठाउँबाट पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौ भृकुटीमण्डपस्थित प्रहरी परिसरमा राखिएको छ ।

विप्लव नेतृत्वको नेकपासहित ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवाद र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले बन्द आह्वान गरेका हुन् ।

मंगलबार विहानैदेखी बन्दकर्ता सडकमा निस्केर कलेज तोडफोड, गाडी तोडफोड र जथाभावी गर्दै हिँडेपछी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । सुरुमा शंकास्पद रुपमा निस्केका बन्दकर्तालाई विभिन्‍न ठाउँबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले बताए ।

काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको हो । अहिले काठमाडौंमा बन्दको आंशिक असर देखिएको छ ।

कलेज र स्कुल बन्द छन् भने फाट्टफुट्टबाहेक पसलहरु पनि खुलेका छैनन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय