प्रिमियर लिगमा चेल्सीको लज्जास्पद हार, सिटी भने हारबाट जोगियो
काठमाडौं, ६ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सीले फराकिलो हार व्यहोरेको छ । लिड्स युनाइटेडले १० खेलाडीमा सीमित चेल्सीलाई ३-० ले हराएको हो ।
लिड्सको जीतमा ब्रेन्डन आरोन्सन, रोड्रिगो र ज्याक ह्यारिसनले १-१ गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो ।
खेलको ३३औं मिनेटमा आरोन्सनको गोलमार्फत घरेलु टोलीले अग्रता लिएको थियो । ३७औं मिनेटमा रोड्रिगोले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ६९औं मिनेटमा ह्यारिसनले गोल गरेपछि लिड्स फराकिलो जीततर्फ अग्रसर बनेको थियो । ८४ मिनेटमा कालिदोउ कोलिबालीले रातो कार्ड खाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि कुनै गोल भएनन् र लिड्स ३-० ले विजयी भयो । यस जीतसँगै ३ खेलबाट ७ अंक भएको लिड्स अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित चेल्सी ३ खेलबाट ४ अंक जोड्दै १२औं स्थानमा रहेको छ ।
गएराति नै भएको अर्को रोमाञ्चक खेलमा म्यान्चेस्टर सिटी भने हारबाट जोगिएको छ । सिटी र न्युकासलले ३-३ गोलको बराबरी खेलेका हुन् ।
खेलको पाँचौं मिनेटमा इल्काए गुन्डोगानको गोलमार्फत सिटीले अग्रता लिएको थियो । २८औं मिनेटमा घरेलु टोलीका मिगुएल अल्मिरोनले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
३९औं मिनेटमा क्यालम विल्सनले गोल गरेपछि न्युकासल २-१ ले अघि बढ्यो । दोस्रो हाफको ५४औं मिनेटमा किरान ट्रिपियरले गोल गरेपछि न्युकासलले अग्रता फराकिलो बनाएको थियो ।
६०औं मिनेटमा एर्लिङ हालान्डले गोल गरेपछि खेल ३-२ को अवस्थामा आयो । त्यसको चार मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै खेल पुनः बराबरीमा ल्याए । त्यसपछि गोल नहुँदा दुवै टोलीले १-१ अंक बाँडे ।
बराबरीपछि ३ खेलमा ७ अंक भएको सिटी दोस्रो स्थानमा छ भने समान खेलबाट ५ अंक भएको न्युकासल पाँचौं स्थानमा छ ।