प्रिमियर लिग: बर्नमाउथलाई हराउँदै आर्सनल शीर्षस्थानमा

काठमाडौं, ५ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनलले सहज जीत निकालेको छ । लगातार तेस्रो जीत हासिल गर्ने क्रममा आर्सनलले बर्नमाउथलाई उसकै मैदानमा ३-० ले हराएको हो ।

आर्सनलको जीतमा मार्टिन ओडेगार्डले २ तथा विलियम सालिबाले १ गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो ।

खेलको ५औं मिनेटमा नै ओडेगार्डको गोलमार्फत पाहुना टोलीले अग्रता लिएको थियो । ११औं मिनेटमा पुनः ओडेगार्डले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५४औं मिनेटमा सालिबाले गोल गरेपछि आर्सनल सहज जीततर्फ अग्रसर बनेको थियो । त्यसपछि कुनै गोल भएनन् र आर्सनल ३-० ले विजयी भयो ।

यस जीतसँगै ३ खेलबाट ९ अंक भएको आर्सनल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ भने पराजित बर्नमाउथ ३ खेलबाट ३ अंक जोड्दै १४औं स्थानमा रहेको छ ।

गएराति नै भएका अन्य खेलहरुमा टोटनहामले वुल्भसलाई १-० ले, क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३-१ ले, फुलहामले ब्रेन्टफोर्डलाई ३-२ ले तथा साउथह्‍याम्पटनले लेस्टरलाई २-१ ले हराएका छन् भने एभर्टन र नटिङहाम फरेस्टले १-१ गोलको बराबरी खेलेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय