शर्मा भन्छन्- एक व्यक्ति बढीमा दुईपटक मात्रै प्रधानमन्त्री

काठमाडौं, ४ भदौ । नेपाली काँग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले कुनैपनि व्यक्ति बढीमा दुईपटक मात्रै प्रधानमन्त्री हुन पाउने व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । शर्माले एउटै व्य‍क्तिलाई पटक-पटक सिंहदरबारभित्र प्रवेश आवश्यक नभएको समेत दोहोर्‍याए ।

महामन्त्री शर्माको झापा क्षेत्र नम्बर १ बाट काठमाडौं आएर बसोबास गर्ने नेपाली काँग्रेस झापाका नेता कार्यकर्ताद्वारा काठमाडौंमा आयोजित “युवासँग विश्‍वप्रकाश” विषयक अन्तरक्रियामा उनले उक्त कुरा बताएका हुन् ।

महामन्त्री शर्माले एक व्य‍क्तिले बढीमा एकपटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री हुन पाउने तर त्यो भन्दा बढी लोभ गर्न नहुने तर्क गरे । उनकै पार्टी सभापति शेरबहादुर देउवा छैटौंपटक प्रधानमन्त्री हुने दाउमा रहेका बेला शर्माको यो भनाइ आएको हो ।

‘एकै ब्यक्तिले धेरैपटक पद लिएर सिंहदरबार भित्र प्रवेश गर्ने परिपाटी बन्द हुनुपर्छ’, उनले भने- ‘एउटै व्य‍क्तिले धेरै अवसर पाउँदा नै युवाको पालो नआएको हो ।’

महामन्त्री शर्माले अब युवाले पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको भन्दै कुनैपनि पार्टीले युवालाई पर्याप्त अवसर नदिएको टिप्पणी गरे । उनले नेपाली काँग्रेसले मात्रै नभएर सबैजसो पार्टीले युवालाई अगाडि सार्न नसकेको आरोप लगाए ।

महामन्त्री शर्माले एउटै व्य‍क्तिले पार्टी र सरकारमा अवसर पाइराख्दा पालो कुरेर बस्‍ने व्य‍क्तिलाई अफ्ट्यारो हुने र त्यसले विरोध अनि दुश्मनी बढाउने पनि बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय