प्रधानमन्त्री बन्न चाहने शीर्ष नेताको पीडा; काठमाडौंमा घर, चुनाव लड्न डर !
काठमाडौं, ३ भदौ । काठमाडौ देशको संघीय राजधानी र सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला हो । यहाँ १० वटा संघीय र २० वटा प्रदेश निर्वाचन क्षेत्र रहेको छ । तर देशको भावी प्रधानमन्त्री बन्छु भन्ने कुनैपनि नेता काठमाडौंबाट चुनाव लड्न किन चाहँदैनन् ?
सबैजसो ठुला पार्टीका अध्यक्ष तथा सभापतिको घर पनि काठमाडौं उपत्यकाभित्रै छ । काँग्रेस सभापति शेरबहादुर देउवाको घर बुढानिलकण्ठमा छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटमा छ ।
त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटार, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको कोटेश्वर अनि झलनाथ खनालको डल्लु र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको घर टोखा नगरपालिकामा छ । प्रधानमन्त्रीका आकांक्षी बामदेव गौतमको भैंसेपाटी र काँग्रेस नेता रामचन्द्र पौडेलको बोहोराटारमा घर छ ।
तर, काठमाडौंबाट यी कुनैपनी नेता चुनाव लड्ने मनस्थितिमा देखिँदैनन् । सायद यिनलाई काठमाडौंको जनताले हराइदिन्छन भन्ने भित्री डर छ । त्यसैले काँग्रेस सभापति देउवा डडेल्धुराबाट चुनाव लड्दैछन् भने एमाले अध्यक्ष ओली झापाबाट ।
माओवादी अध्यक्ष प्रचण्ड चितवन, नेकपा एसका अध्यक्ष नेपाल रौतहट र वरिष्ठ नेता खनाल चुनाव लड्न इलाम पुग्दैछन् । नेसपा अध्यक्ष बाबुराम भट्टराई गोरखा, काँग्रेस नेता पौडेल तनहुँ र नेता बामदेव गौतम प्युठान पुग्ने तयारीमा छन् ।
काठमाडौंबाट निर्वाचन लड्नेमा काँग्रेस महामन्त्री गगन थापा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, माओवादी नेता हितमान शाक्य र एमाले नेता कृष्णगोपाल श्रेष्ठको चाहिँ लगभग पक्का छ ।
काठमाडौंमा गएको स्थानीय निर्वाचनको मत हेर्ने हो भने काँग्रेस पहिलो देखिन्छ । काँग्रेसका वडाध्यक्षहरुले जिल्लाभर १ लाख ५७ हजार ३४२ मत पाएको निर्वाचन आयोगको रेकर्डमा देखिन्छ ।
दोस्रोमा एमालेको मत १ लाख ५३ हजार ९१२ छ भने तेस्रो स्थानमा राप्रपा छ । राप्रपाको २६ हजार ९१५ मत रहेको छ । माओवादी र नेकपा एस भन्दा राप्रपा काठमाडौमा अगाडी छ ।
नेकपा एकिकृत समाजवादी २१ हजार ६२४ मतसहित चौथो र माओवादी केन्द्र १६ हजार मतसहित पाँचौं स्थानमा छ ।
काठमाडौंमा यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले समेत कडा टक्कर दिन सक्ने भन्दै दलका केही नेताहरू उम्मेदवार बन्ने कि नबन्ने दोधारमा रहेका छन् ।