काठमाडौं-२: हल्ला मोहन र झाँक्रीको तर सम्भावना कबिर, प्रतिमा र उषाको
काठमाडौं, २ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि दलहरू तयारीमा लागिसकेका छन् । दलको तयारीसँगै दलबाट प्रतिनिधित्व गर्ने प्रत्यासीहरुको पनि चर्चा सुरु भएको छ ।
यसपटक चर्चामा रहेको क्षेत्रमध्ये काठमाडौं क्षेत्र नम्बर २ पनि हो जहाँ गएको चुनावमा अहिलेको नेकपा एसका अध्यक्ष तथा तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जितेका थिए । यो क्षेत्रलाई माधव नेपालकै क्षेत्र भनेर चिनिन्छ । तर, यसपटक नेपाल आफ्नो पुर्ख्यौली थलो रौतहटबाट चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
माधव नेपालले छाडेपछि यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीकै सचिव रामकुमारी झाँक्री चुनाव लड्ने चर्चा छ । त्यसो त सत्ता गठबन्धन बीचमा भागबण्डा हुँदा यो क्षेत्र कसलाई पर्छ टुंगो छैन ।
तर, नेकपा एमालेले भने यो क्षेत्रमा राष्ट्रपति विद्या भन्डारीकी छोरी उषा किरणलाइ उम्मेदवार बनाउने भएको छ । माधव नेपालको क्षेत्र भएपनि एमालेको लोकप्रिय मत यो क्षेत्रमा रहेको भन्दै उषालाइ उम्मेदवार बनाउन लागिएको चर्चा छ ।
यता गठबन्धनको मुख्य दल नेपाली काँग्रेसले भने यो क्षेत्रमा सिन्धुपाल्चोकका मोहनबहादुर बस्नेतलाई ल्याउन सक्ने अनुमान गरिएको छ । सिन्धुपाल्चोक-२ मा माओवादीलाई दिनुपर्ने र सो क्षेत्रमा सभामुख अग्नि सापकोटा उम्मेदवार बन्ने चर्चासँगै बस्नेतलाई काठमाडौं-२ मा ल्याउने चर्चा भएको हो । यद्यपि यो कुराको टुंगो भने लागिसकेको छैन ।
यो क्षेत्र नेपाली काँग्रेसले पाउने पक्का भएमा काँग्रेसले युवा नेता कबिर शर्मालाइ अगाडि सार्ने सम्भावना छ । युवादेखि वृद्धसम्म लोकप्रिय रहेका कबिर नेपाली काँग्रेस काठमाडौं-२ का क्षेत्रीय सभापति पनि हुन् । उनको लोकप्रियताको कारण र युवाको प्रतिनिधित्व हुने कुराले सो क्षेत्रमा काङ्ग्रेसले बाजि मार्न सक्ने धेरैको बुझाइ छ ।
कबिरसँगै सो क्षेत्रमा काँग्रेसबाट प्रतिमा गौतमको पनि दाबी रहनेछ । गौतम २०७४ को निर्वाचनमा माधवकुमार नेपालसँग पराजित भएकी थिइन् । उनी नेपाली काँग्रेसभित्र लोकप्रिय महिला नेतृको रुपमा चिनिन्छिन् ।
यो क्षेत्रमा गएको स्थानीय निर्वाचनमा एमालेले १७ हजार मत पाएको छ भने नेपाली काँग्रेसले १४ हजार, राप्रपा र एकीकृत समाजवादीले ७/७ हजार र माओवादी केन्द्रले ३ हजार मत पाएको देखिन्छ । यो हिसाबले हेर्दा सत्ता गठबन्धनको मत २४ हजार छ भने एमाले र राप्रपा मिल्दा पनि २४ हजार नै हुन्छ ।
यसमा जित्न का लागि लोकप्रिय उम्मेदवार र राप्रपाको मत निर्णायक हुने अवस्था आउन सक्छ । यद्यपि यो क्षेत्रमा राप्रपाले कुन्ती पोख्रेललाई उम्मेदवार बनाउने चर्चा छ ।