पासोमा परेको चितुवाको उद्धारका क्रममा मृत्यु

रासस

बैतडी, २ भदौ । बैतडीको दशरथचन्द नगरपालिका–४ बिनासौँमा पासोमा फसेको चितुवा मरेको छ ।

बुधबार बिहान बँदेलका लागि किसानले मकैबारीमा थापेको पासोमा चितुवा फसेको थियो ।

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार पासोमा परेको चितुवा उद्धारका क्रममा बुधबार दिउँसो मरेको हो ।

उनले भने, ‘पासोमा परेको चितुवा सुरक्षाकर्मीले उद्धार गर्ने क्रममा मरेको छ, खोर लगेर उद्धार गर्दै थियौं, सोही क्रममा चितुवा मरेको हो, चितुवाको ढाडमा पासो परेको थियो, उद्धारकै क्रममा गम्भीर चोट पुगेको हुनसक्छ ।’

पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको भए पनि टोली नपुग्दै चितुवा मरेको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय