काँग्रेस नेतृ चौधरी पार्टी छाड्ने तयारीमा
काठमाडौं, १ भदौ । नेपाली काँग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य पार्वता डिसी चौधरीले नेपाली काङ्ग्रेस छाड्ने संकेत गरेकी छन् ।
नेपाली काँग्रेसले मंगलबार १० जना महिला केन्द्रीय सदस्य मनोनित गर्दा आफू नपरेको भन्दै उनले यस्तो निर्णय लिन लागेकी हुन् ।
दाङबाट २ पटक सांसद रहेकी चौधरीले सामाजिक सञ्जालमा पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै पार्टीसँगको साइनो तोड्ने बताएकी हुन् ।
उनले लेखेकी छन्, ‘आज केन्द्रिय सदस्यमा १० जना महिला मनोनित हुदा पार्बता डि. सी. चौधरी अट्न सकिन अटिन त्यसको लागि धन्यबाद छ । छिटै कांग्रेस संगको साईनो तोडदै छु । जय नेपाल !’
उनी १४औं महाधिवेशनमा भएको निर्वाचनमा केन्द्रीय सदस्यमा पराजित भएकी थिइन ।
उनले सामाजिक संजालमा गुनासो सहित केही समयमा पार्टीसँगको साइनो तोड्ने बताएपछि काँग्रेसभित्र चर्चाको विषय भएको छ ।