बिरामी बोक्ने एम्बुलेन्समा ९० किलो गाँजा !
सिराहा, ३१ साउन । सिराहाबाट ९० किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार एम्बुलेन्समा राखेर गाँजा ओसारपसार गरेको आरोपमा चालक पक्राउ परेका हुन् ।
सोमबार राति पौने ९ बजे लहान नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गबाट उक्त गाँजा बरामद गरिएको हो । पक्राउ पर्नेमा एम्बुलेन्स चालक २९ वर्षीय सरोज लामा रहेका छन् ।
उनी को १ च ७५७७ नम्बरको एम्बुलेन्सका चालक हुन् । उनले एम्बुलेन्सको पछाडि बिरामी राख्ने ठाउँमा गाँजा बोकेको अवस्थामा फेला परेको हो ।
पाँच वटा बोरामा ९० किलो गाँजा बरामद गरिएको हो भने २८ हजार रुपैयाँ पनि बरामद गरिएको थियो ।
यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।