भारतीय फुटबलमाथि फिफाको प्रतिबन्ध
एजेन्सी, ३१ साउन । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबलमा बाहिरी शक्ति हावी भएपछि भारतमाथि अनिश्चितकालिन प्रतिबन्ध लगाएको छ ।
फिफाले यसअघि नै ‘अल इन्डिया फुटबल फेडेरेसन’ (एआइएफएफ)लाई पटक पटक चेतावनी दिएपनि विधानविपरित कार्य हुँदै आएको थियो । भारतको सर्वोच्च अदालतले एआइएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो ।
तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो । फिफाको यस निर्णयसँगै अब भारतले अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न पाउने छैन ।
भारतका क्लबले पनि एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने छैनन् । त्यसैगरि अक्टोबरमा भारतमा आयोजना हुन लागेको यू-१७ महिला विश्वकप पनि अब अन्तै सर्नेछ ।
फिफाका अनुसार अब एआइएफएफमा आफ्नै कमिटीले कार्यसम्पादन सुरु गरेपछि मात्र फुकुवाको ढोका खुल्नेछ ।