सम्पदा उत्खनन र बाढीको बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित
काठमाडौं, २९ साउन । विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्र वरपर बागमती नदीमा आएको बाढी र त्यसले निम्त्याएको विनाशलाई रोक्नुको सट्टा सरकारी निकायले उल्टै उत्खनन र बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।
गत साता अविरल बर्षापछि बागमती नदिमा आएको बाढीले पशुपति र गुह्येश्वरी वरपरका क्षेत्रमा डुबान गरेको थियो । बागमती नदीको वहावलाई स्थायी रुपमा व्यवस्थित गर्न नसक्दा र स्थानीयको पटक-पटकको आग्रहलाई समेत सरकारी निकायले ध्यान नदिँदा सो क्षेत्रमा वर्षाको समयमा हरेक वर्ष क्षति हुने गरेको छ ।
बागमतीमा बाढी आएपछि मुख्यगरी गौरीघाट क्षेत्रमा रहेका घर, पसल, ग्यारेज तथा किराना पसलमा पानी पसेर वर्षेनि भौतिक क्षति पुर्याउने गरेको छ । बाढी आएपछि खोला किनारका बासिन्दा सधैं त्रसित हुनुपर्ने अवस्थाको अन्त्यका लागि सरकारले ध्यान दिनुपर्ने बुद्धिजीवी पुष्कर नेपाल बताउँछन् ।
बाढी पछि झन स्थानीय निकायले काम देखाउन खोला किनार उत्खनन गर्ने र त्यै माटो अर्को किनारमा थुप्रो लगाउने गर्दा नदि थुनिने देखि समस्या झन बढ्ने नेपालको भनाइ छ ।
उनले यस विषयमा पटक-पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको भएपनि समस्या झन् थपिएको भन्दै समयमै स्थायी समाधानको उपाय खोज्न सरोकारवाला पक्षसँग आग्रह गरे ।