प्रिमियर लिगमा युनाइटेडको लज्जास्पद हार
काठमाडौं, २९ साउन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले लज्जास्पद हार व्यहोरेको छ । लगातार दोस्रो हार व्यहोर्ने क्रममा युनाइटेड ब्रेन्टफोर्डसँग ४-० ले पराजित हुन पुग्यो ।
युनाइटेडले सबै गोल पहिलो हाफमै खाएको थियो । ब्रेन्टफोर्डलाई फराकिलो जीत दिलाउन जोस डासिल्भा, माथियास जेन्सेन, बेन मी र ब्रायन बेउमोले १-१ गोल गरे ।
खेलको १०औं मिनेटमा नै डासिल्भाको गोलमार्फत घरेलु टोलीले अग्रता लिएको थियो । १८औं मिनेटमा जेन्सेनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
३०औं मिनेटमा मीले गोल गरेपछि ब्रेन्टफोर्ड ३-० ले अगाडि बढ्यो । ३५औं मिनेटमा बेउमोले टोलीका लागि चौथो गोल गरे ।
दोस्रो हाफमा युनाइटेड पनि खेलमा फर्कन सकेन र दुवै टोलीबाट थप गोल नहुँदा ब्रेन्टफोर्ड ४-० ले विजयी भयो ।
यस हारसँगै युनाइटेड अंकविहीन रहँदै तालिकाको पुछारमा रहेको छ भने ३ अंक हासिल गरेको ब्रेन्टफोर्ड २ खेलमा ४ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।
गएराति नै भएका अन्य खेलहरुमा म्यान्चेस्टर सिटीले बर्नमाउथलाई ४-० ले हराएको छ भने आर्सनलले लेस्टर सिटीलाई ४-२ ले हरायो ।