पोखराको प्याराग्लाइडिङलाई कायमै राख्न उपाय खोज्छौं: मन्त्री श्रेष्ठ
राससपोखरा, २५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखराको ब्राण्डका रुपमा रहेको प्याराग्लाइडिङ व्यवसाय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि समेत कायमै राख्न उपाय खोजिने बताएका छन् ।
समाजवादी प्रेस सङ्गठनले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले विमानको सुरक्षामा कुनै असर नपर्ने गरी प्याराग्लाइडिङ व्यवसायलाई कायमै राख्न प्रयत्न गरिने बताए ।
मन्त्री श्रेष्ठले आगामी अङग्रेजी नयाँवर्षदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने बताए । मन्त्री श्रेष्ठले विमानस्थल सञ्चालनका लागि समस्याका रुपमा रहेको रिठेपानी डाँडा कटान र ल्याण्डफिल साइट व्यवस्थापनको काम छिट्टै अघि बढाइने बताए ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हालको प्याराग्लाइडिङ विस्थापित हुनुपर्ने चिन्ताले यहाँका पर्यटन व्यवसायीलाई चिन्तित बनाएको छ ।