ज्ञानेन्द्रको राष्ट्रिय टोलीमा पुनरागमन, भुर्तेल बाहिर रहँदा साउद पहिलोपटक समावेश
काठमाडौं, २४ साउन । युवा विकेटकिपर अर्जुन साउदलाई पहिलोपटक समेट्दै केन्या भ्रमणका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले केन्यासँग खेल्ने पाँच टी-२० तथा तीन एकदिवसीय अभ्यास खेलको लागि मङ्गलबार टोलीको घोषणा गरेको हो ।
पूर्वकप्तान एवम् अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लले टोलीमा पुनरागमन गरेका छन् भने कुशल भुर्तेल र विनोद भण्डारी भने टोलीमा समावेश छैनन् । साहब आलम र विवेक यादवले पनि पुनरागमन गरेका छन् ।
कप्तान सन्दीप लामिछानेले टी-२० आई सिरिजमा कप्तानी गर्नेछन् भने बाँकी तीन एकदिवसीय अभ्यास खेलमा कप्तानी रोहित पौडेलले गर्ने जनाइएको छ ।
टोलीमा पहिलोपटक परेका साउद सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने गर्छन् भने उनले नेपालको यू-१९ टोलीबाट पनि खेलिसकेका छन् । उनी विकेटकिपिङसँगै विस्फोटक ब्याटिङका लागि पनि परिचित छन् ।
यस्तो छ नेपाली टोलीः
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल(उपकप्तान), आसिफ शेख(विकेटकिपर), अर्जुन साउद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, बसिर अहमद, , पवन सरार्फ, साहब आलम, किशोर महतो, विवेक यादव ।
खेल तालिकाः
पहिलो टी२० – भदौ ९
दोस्रो टी२० – भदौ १०
तेस्रो टी२० – भदौ १२
चौथो टी२० – भदौ १३
पाँचौं टी२० – भदौं १४
पहिलो एकदिवसीय खेल – भदौ १७
दोस्रो एकदिवसीय खेल – भदौ १८
तेस्रो एकदिवसीय खेल – भदौ २०