चेतनामूलक लघु चलचित्र ‘जीवन’को सुदूरपश्‍चिमदेखि प्रदर्शन सुरु

धनगढी, २४ साउन । जनचेतनामूलक लघु चलचित्र ‘जीवन’ गएको आइतबारदेखि प्रदर्शनमा आएको छ । सुदूरपश्‍चिम प्रदेशदेखि उक्त चलचित्र प्रसारण सुरु गरिएको हो ।

विद्यार्थी जीवनमा आइपर्ने विभिन्‍न नकारात्मक सोचाइ एवम् त्यसका कारण भविष्यमा आउन सक्ने समस्याहरुको बारेमा यस चलचित्रले चेतनामूलक सन्देशहरु बोकेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट समेत प्रसारणको स्वीकृति पाइसकेको यस चलचित्र सम्पूर्ण विद्यार्थीहरुले हेर्नै पर्ने निर्देशक सन्जय धमलाको भनाई छ ।

‘यस चलचित्रमा चाहिँ आफ्नो स्कुल जीवनमा सकारात्मक भन्दा नकारात्मक कुरामा बढी केन्द्रीत हुँदाको नतिजाका बारेमा हामीले देखाउन खोजेका छौं’, धमलाले भने- ‘यस चलचित्र हेरिसकेपछि विद्यार्थीहरुमा सकारात्मक सोचको विकास हुन सहयोग पुग्‍ने हाम्रो विश्‍वास छ ।’

यस चलचित्रलाई सुदूरपश्‍चिम प्रदेशका विद्यालयहरुबाट प्रदर्शन गर्न सुरु गरी पूर्वतर्फ बढ्दै जाने बताइएको छ । हाल टोली कैलालीको धनगढीमा प्रदर्शनमा व्यस्त छ ।

खासगरी  सरकारी स्कुलहरुमा गर्मी बिदा भएकाले हाल निजी स्कुलहरुमा प्रदर्शन गराइरहेको र सम्भव भएसम्म सम्पूर्ण जिल्लाका निजी एवम् सरकारी विद्यालयमा गएर यस चलचित्र विद्यार्थीहरुलाई देखाउने निर्देशक धमलाको भनाई छ ।

चलचित्रमा कलाकार सरोज खनाल, शारदा गिरी (काली बूढी), लोकजंग बस्‍नेत, केशव विनाडी, उषा पराजुली, विजय धमला, सानु धमलालगायतको भूमिका रहेको छ ।

चलचित्रको निर्माण सन्जय धमलासहित उषा पराजुली, सुदीप जोशी, केशव विनाडी, ओम तिलक ओलीले गरेका हुन् भने क्यामेरामा दीपक गिरीलगायतको टोली र र सम्पादनमा विनोद बम छन् ।

चलचित्रको पोस्ट प्रडक्सन सन मून मोशन पिक्चर्सको नामबाट गरिएको छ । उक्त नामको युट्युबमा च्यानल पनि रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय