प्रिमियर लिगः युनाइटेडको सुरुवात खराब हुँदा सिटीको विजयी सुरुवात

काठमाडौं, २३ साउन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार सम्पन्‍न खेलमा म्यान्चेस्टर युनाइटेड पराजित हुँदा म्यान्चेस्टर सिटीले भने सुखद सुरुवात गरेको छ ।

युनाइटेडलाई उसकै मैदानमा ब्राइटनले २-१ गोलअन्तरले हराएको हो । ब्राइटनको जीतमा पास्कल ग्रसले २ गोल गर्दा युनाइटेडले भने एक गोल उपहार पाएको थियो ।

खेलको ३०औं मिनेटमा ग्रसले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए भने ३९औं मिनेटमा अर्को गोल थप्दै पहिलो हाफमा टोलीलाई २-० ले अगाडि राखे ।

दोस्रो हाफको ६८औं मिनेटमा एलेक्स म्याकअलिस्टरले आत्मघाती गोल गरेपछि खेल २-१ को अवस्थामा आयो । त्यसपछि कुनै गोल निस्कन सकेन र युनाइटेड पहिलो खेलमा घरमै पराजित हुन पुग्यो ।

त्यसैगरी अर्को खेलमा सिटीले वेस्टह्यामलाई २-० ले हरायो । सिटीका लागि एर्लिङ हालान्डले दुवै गोल गरे । ३६औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका उनले ६५औं मिनेटमा अर्को गोल थपे । हालान्ड सिटीमा यसै सिजन भित्रिएका हुन् । डेब्युमै उनले २ गोल गरे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय