कस्तो रहला शुक्रबार दिनभरको मौसम ?
काठमाडौं, २० साउन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले जारी गरेको तीन दिनको मौसम पुर्वानुमानमा आइतबारसम्म केही प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेको उल्लेख गरिएको छ ।
महाशाखाका अनुसार आज शुक्रबार दिनभरको मौसम यसप्रकार रहने छ ।
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:
देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।