परेवान्युज
|
श्रावण १९ गते, २०७९ - १०ः५८ मा प्रकाशित
नेपालको राजनीतिमा सधैं सुनिने शब्द हो नातावाद,कृपावाद र चाकरीवाद । झट्ट हेर्दा नेपाली राजनीतिमा निकै फापेको शब्द पनि हो यो । जसले नेताको पछि लागेर नेताकै भजन गाउँछ उसैले अवसर र पद पाउछ । होइन भने नेताको परिवार वा नातेदार भित्रको व्यक्ति हो भने मात्रै राजनीतिमा अवसर पाउने गरेको थुप्रै उदाहरण अहिले छर्लङ्ग छ ।
नेताको श्रीमती, छोराछोरी, भतिजा-भतिजी, दाजुभाइ, दिदीबहिनीको मात्रै होइन साला, साली, भिनाजु, मामा-माइजू र मितेरी साइनोसम्मले राजनीतिक दल, सरकार र समग्र नेपाली राजनीतिमा पकड जमाएकै छ ।
यो सबै कुराबाट टाढा रहेर निस्वार्थ भावनाले राजनीति गरेर जनताको दु:ख-सुख बुझ्ने नेता कार्यकर्ता पनि छन् । केही नेता कार्यकर्ता यस्ता पनि छन् कि जसले राजनीतिलाई समाजसेवाको रुपमा लिएर अगाडि बढिरहेका छन् । यस्तैमा पर्दछन् काठमाडौं महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष भुवन लामा ।
भुवन लामा
काठमाडौंको बौद्ध निवासी लामा २०७९ सालको स्थानीय निर्वाचनमा आफ्नो पुरै टिमसहित नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्ष निर्वाचित भए । निर्वाचित भइसकेपछि उनले विकास निर्माण र अन्य सामाजिक काममा कहिले पनि फरक पार्टी, फरक विचार र फरक गुट भनेर हेरेका छैनन् । ‘म निर्वाचित कुन पार्टीको चिन्ह बाट भए भन्ने कुरा प्राविधिक हो, निर्वाचन परिणामसँगै त्यो सकियो’, उनी भन्छन्- ‘अब म वडाको प्रतिनिधि हूँ र मैले सम्पुर्ण वडावासीको सुख-दु:खमा साथ दिनुपर्छ, पार्टी भनेर छुट्टै व्यवहार गर्न हुन्न ।’
नेपाल तरुण दलको पृष्ठभुमिबाट राजनीतिमा आएका लामा तरुण दलको केन्द्रीय सदस्य र आर्थिक विभाग सह-संयोजक भएर काम गरे । त्यो भन्दा अगाडि उनी व्यवसायी थिए ।
नेपाली काङ्ग्रेसको काठमाडौं-६ नम्बर वडा इकाइ सभापति हुँदै राजनीतिलाई अगाडी बढाएका लामा २०४८ सालको आम निर्वाचनमा सन्त नेता कृष्णप्रसाद भट्टराईको निर्वाचन क्षेत्रको प्रचारप्रसार सहसंयोजक भएर समेत काम गरे ।
राजनीतिसँगै आफ्नो व्यवसाय पनि अगाडि बढाएका भुवनले आफ्नै क्षमता र आफ्नै लगानीमा यातायात, ढुवानी, बालुवा, घरजग्गा कारोबार हुँदै पर्यटनमा समेत लगानी गरे । व्यवसाय व्यवस्थापन गर्दै उनी नेपाली काङ्ग्रेसको राजनीतिमा पनि निरन्तर क्रियाशील हुँदै गए । आफ्नो र परिवारको इमान्दार छवि र समाजसेवी भावना नै राजनीतिको सिढी चढ्ने सजिलो आधार बनेको उनको बुझाइ छ ।
सामुदायिक बौद्ध स्तुपा क्लबको अध्यक्ष भएर पनि उनले समाजसेवाको कामलाई निरन्तरता दिए । भुवनले २०३५ सालदेखि हेभी इकुप्मेन्ट, टिप्पर भाडामा लिएर हालको ग्रीनहिल सिटी भएको ठाउमा ४० रोपनी जग्गामा बालुवाखानी संचालन गरे । जसले गर्दा उनको आम्दानी बढ्दै गयो र दिल खोलेर समाजसेवा पनि गर्न सके । २०६० साल पछि उनी रियल स्टेट कारोबारमा पनि संलग्न भए । उनलाइ व्यवसायमा उनको परिवारले पनि पूर्ण साथ दिएको उनी बताउँछन ।
उनी काठमाडौंका पुराना लामा परिवारका सदस्य हुन । उनको परिवार दस पुस्तादेखि बौद्धमा नै बसेको छ । हाल वडाको काममा सक्रिय लामा आफ्नो वडाको विकास र समृद्धिका लागि दिन रात नभनी खटेका छन् । वडाअध्यक्ष जितेपछि जनताको पिरमर्का बुझ्ने, बाटो, नाला, बिजुली, पार्किङ, फोहोर व्यवस्थापन जस्ता jlषयमा कसरी जनतालाई खुसी राख्न सकिन्छ भनेर उनी व्यस्त छन् ।
काठमाडौंका वडामध्येमा पनि उत्कृष्ट वडा कसरी बनाउने भन्ने उनको सोचाइ छ । वडाका प्रत्येक समस्या समाधान गर्न पाए र जनताको काम गरेर नै वडावासीको मन जितेर अगाडिको राजनीतिक यात्रा तय गर्ने मनस्थितिमा आफू रहेको बताउँछन् ।
अहिले वडाको चुनौति बौद्ध एरियामा पार्किङ, ढल र फोहोर व्यवस्थापन नै हो भन्ने भुवनले बुझेका छन् । त्यसैले उनी ढल व्यवस्थापनको लागि दैनिक छलफलमा छन् भने व्यवस्थित पार्किङको लागि महेन्द्र बौद्ध मावीको जग्गामा डबल बेसमेन्ट पार्किङ र माथि आधुनिक ढाँचाको खेल मैदान बनाउने योजनामा छन् । योसँगै वडा नम्बर ६ लाई विकासको रोल मोडल बनाउन सक्ने भुवनको बुझाइ छ । उनी आफ्नै पालामा वडाको बिकास र समृद्धि हुनेमा आशावादी छन् ।
वडामा राम्रो काम गरेर देखाएपछि कामकै आधारमा माथिल्लो तहको नेतृत्व गर्ने उनको चाहना छ । नेताको चाकरी वा हुक्के-बैठके बनेर होइन जनताको सेवक बनेर पार्टीलाइ र आफुलाइ नै उत्कृष्ट बनाउने उनको योजना छ । कामकै आधारमा जनता र कार्यकर्ताको मन जितेर प्रदेश अनि संघमा समेत आफू नेतृत्व गर्ने अवस्थामा पुग्नेमा भुवन आशावादी छन् ।
‘कुनैपनि नेताको चम्चा, हुक्के, ढोके हुने रहर छैन’, उनी भन्छन् -‘चाप्लुसी र चाकडी अनि आशिर्वादले म यो ठाउँमा आएको होइन, अबको राजनीति पनि कुनै नेताको गुट उपगुटमा लागेर अगाडि बढ्ने भन्दापनि जनतासँग प्रत्यक्ष जोडिएर काम गर्छु ।’