थप ८ सय १४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ५ हजार नाघे
काठमाडौं, १७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७६२ नमूनाको आरटी पिसिआर परीक्षण गर्दा ५०९ र २६५३ नमूनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा गरी कुल ८१४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्ला दिनयता सयौंको सङ्ख्यामा संक्रमित थपिएसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । अहिले सक्रिय संक्रमितको सङ्ख्या ५१४४ पुगेको छ ।
आज २९९ जना निको भएसँगै हालसम्म ९ लाख ७० हजार ६२५ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ११ हजार ९६८ जनाको मृत्यु भएको छ ।