मोटोपन घटाउन अपनाउनुस् यी अचुक उपायहरु
मोटोपनले सताएको छ ? दुब्लाउन चाहनुहुन्छ । दैनिक भागदौड जीवनमा मानिसले आफ्नो स्वास्थ्यलाई ध्यान दिन सकिरहेको हुँदैन । मोटोपनबाट छुटकारा पाउन चाहँदा चाहदै पनि उनीहरु उपायहरुको कमीका कारण दुब्लाउन सकिरहेका हुँदैनन् । मोटोपनबाट छुटकारा पाउन केके गर्नुपर्छ थाहा पाइराख्नुहोस् ।
दैनिक ३–४ पल्टभन्दा बढी खाना खानु हुँदैन । सधैँ नियमित रूपले निश्चित मात्रामा खाद्यपदार्थको प्रयोग गर्नुपर्छ । एकैपल्ट धेरै खाना खानु पनि उचित हुँदैन । भोकको अनुभूति भैरहेमा अति कम क्यालोरी दिने खाद्यपदार्थहरू जस्तै– गाजर, काँक्रो, कागतीको सर्बत आदि प्रयोग गर्न सकिन्छ ।
बेलुकाको खाना अलि सबेरै, बेलुका ७ बजेभित्र खानु उपयुक्त हुन्छ । खाना खानेबित्तिकै सुत्नु हानिकारक हुन्छ ।
तौल घटाउनका लागि उचित व्यायाम पनि खानाजत्तिकै महत्वपूर्ण छ । त्यसकारण बिहान सबेरै हिँड्ने अथवा हलुका व्यायाम गर्ने बानी बसाल्नुपर्छ । व्यायाम सकेपछि नियमित स्नान गर्नुपर्छ । यसले शरीरलाई स्वच्छ र फूर्तिलो बनाउँछ । योगासन र प्राणायामबाट पनि तौल घटाउन सकिन्छ ।
डाइटिङ सुरू गरेको १–२ हप्तासम्म छटपटी लाग्ने, मीठो, अत्यधिक क्यालोरी दिने खाद्यपदार्थ खान मन लाग्ने, निद्रा नपर्ने, पेट पोल्ने, अमिल्चुकी आउने आदि लक्षणहरू देखा पर्न सक्छन् । यी लक्षणहरूलाई आत्मबलले दबाउनुपर्छ ।
तौल घटाउने दृढ संकल्प लिएमा यस्ता सानातिना समस्याहरूलाई सजिलै निराकरण गर्न सकिन्छ । पेटभित्रको अम्ललाई प्रशस्त पानी पिएर जित्न सकिन्छ । आवश्यक परे एसिडिटी घटाउने औषधि सेवन गरे हुन्छ ।