बीमितको हत्यापछि नक्कली बिहे गरी अर्कैले २ करोड ५० लाख दाबी

काठमाडौं, १४ साउन । नेपालको बीमा इतिहासमा अनौठो र सबै नक्कली काम गरेर २ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी लिएको एउटा गिरोहको पर्दाफास भएको छ ।

बाँकेको कोहलपुर-११ निवासी बीमित सर्जन वि.कको दुर्घटनामा मृत्यु, त्यो भन्दा एक महिना अघि बीमा, त्यसभन्दा पनि अगाडी नक्कली विवाह र दुर्घटना पछि २ करोड ५० लाख ५ जना मिलेर झ्वाम पार्ने षड्यन्त्र । पछिल्लो अनुसन्धानले यही कथा देखाउछ ।

दुर्घटनापछि नक्कली कागज मिलाएर सर्जन बिककी श्रीमति भनिएकी सपना मल्लसहित अन्य मतियारले उक्त रकम समेत बुझेका थिए । बीमा कम्पनीबाट दाबी पाउनकै लागि सक्कली काजपत्रका साथ सपना र सर्जनको नक्कली बिवाह, नक्कली हकवाला मात्रै होइन सुनियोजित दुर्घटना समेत गराइएको खुलेको छ ।

बीमाको बीमाशुल्क पनि बीमितले नभई सन्जिब अर्याल भन्‍ने उनकै साहुले बुझाएको, हकवालाले वास्तविक रुपमा विवाह नगरी कागजी विवाह गरेको समेत पाइएको छ । घटनामा हकवाला भनिएकी सपना मल्लसहित अन्य ५ जनाको संलग्नता रहेको नेपाल प्रहरीको केन्द्रिय अपराध अन्वेषण ब्युरो( सिआईबी) जनाएको छ । त्यसमा मुख्य योजनाकार सन्जिब अर्याल रहेको र उनी एउटा इन्स्योरेन्स कम्पनीको पूर्वकर्मचारी भएको बुझिन्छ ।

अर्यालकै योजनामा सबै विवरण झुठो र नक्कली भएर पनि सक्कली देखिने गरि अपराधमा संलग्नले कागजात पूरा गरेपछि रिलायन्स इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गरेको थियो ।

तर नेपाल पुनर्बीमा कम्पनीले आफ्नोमा पुनर्बीमाको दाबी परे पछि शंका गर्दै सिआइबीमा उजुरी दिएको थियो । कम्पनीले यो सामान्य घटना नभई सुनियोजित दुर्घटना भएको हुन सक्ने शंका गर्दै सिआईबीमा उजुरी दिए लगत्तै अनुसन्धान सुरु भएको थियो ।

यस घटनामा बीमा समिति समेतलाइ झुक्यानमा पारेको देखिएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सले गरेको दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडेल समेत पुगेका थिए । कम्पनीले २०७८ साउन १३ गते होटल मेरियटमा विशेष कार्यक्रम आयोजना गरेरै सपना मल्ललाई साढे दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरोको अनुन्धानबाट मृतक बीमित सर्जन विक सुनियोजित हत्याको शिकार भएको खुलासा भएको छ । बीमित सर्जन वि.क.को श्रीमति भनिएकी सपना मल्लले बीमा कम्पनीबाट दाबी पाउनकै लागि सक्कली काजपत्रका साथ नक्कली विवाह गरेको पाइएको छ । तर, उनले सबै पैसा नपाएको देखिएको छ । पैसा उनको खातामा आएपछि अन्य ५ जनामा भागबन्डा हुदा उनले ४६ लाख मात्रै पाएको देखिन्छ ।

२०७८ वैशाख २ गते राति करिव ११ बजे कोहलपुर नगरपालिका–११ का २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटनामा ज्यान गएको थियो । उनी बालुवा लोड गर्न भनेर घरबाट निस्केका थिए । काम सकेर भे १० प १७२७ नम्बरको मोटरसाइकलमा काम घरतर्फ फर्किँदै गर्दा उनलाई मिनी बसले ठक्कर दिएको थियो ।

दुर्घटना भएको मोटरसाइकल बीमा अभिकर्ता बनेर बिमा गराउनेको रहेको तथा बीमाको प्रथम बिमाशुल्क बुझाउने मृतकको साहु तथा घटनाका मुख्य योजनाकार भएको अनुसन्धानले देखाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय