आज हल्कादेखि मध्यम वर्षा, बिहिबारदेखि भारी वर्षाको सम्भावना
काठमाडौं, ११ साउन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको छ भने पुर्वमा सरदर स्थानको आसपासमा रहेको छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले जारी गरेको तीन दिनको मौसम पुर्वानुमानमा बिहिबारदेखि विभिन्न प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको उल्लेख गरिएको छ ।
महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:
देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उक्त भू-भागहरुमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।