भरतपुर अस्पतालमा ओपिडी सेवा निःशुल्क

चितवन, ९ साउन । चितवनको भरतपुरस्थित भरतपुर अस्पतालले आइतबारदेखि ओपिडी सेवा निःशुल्क गरेको छ । अस्पतालले टिकटबापतको शुल्क नलिने निर्णय गरेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार अस्पतालले लिँदै आएको ३० रुपैयाँ शुल्क आजदेखि नलिने निर्णय गरेको हो । अस्पताल विकास समितिको बैठकले यो निर्णय गरेको हो ।

यसबाट बिरामी प्रत्यक्ष लाभान्वित हुने उनको भनाइ छ । अधिकारीले टिकटका लागि पालो कुर्नुपर्ने समस्याको केही हदसम्म समाधान हुने जनाए । पछिल्ला वर्षहरुमा अस्पतालले बिरामीको उपचारमा सहयोग हुने गरी विभिन्‍न महत्वपूर्ण निर्णयहरु गर्दै आएको उनी बताउँछन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले महिला र बीमामार्फत आउनेहरुलाई यसअघि नै शुल्क नलिने गरेको बताउँदै बाँकी रहेकाहरुलाई पनि शुल्क नलिने निर्णय गरिएको जानकारी दिए ।

अस्पतालमा दैनिक एक हजार ५०० हाराहारी बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् । चितवनसहित २१ भन्दा बढी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गर्दछन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय