भक्तपुरमा रुख ढलेर सवारी च्यापिँदा तीनको ज्यान गयो
भक्तपुर, ८ साउन । भक्तपुरको सल्लाघारीमा रुख ढलेर सवारी च्यापिँदा तीनजनाको मृत्यु भएको छ । पुरानो सल्लाको रुख अचानक ढलेर बस र स्कुटरमाथि पर्दा १२ जनाभन्दा बढी घाइते समेत भएका छन् ।
रुखले च्यापिँदा काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बसमा रहेका २५ वर्षीय विशेष खर्बुजा र ५५ वर्षीय न्हुँच्छेराम बखत्यो तथा बा ६१ प ३९७८ नम्बरको स्कुटरमा रहेका ४५ वर्षीय राजकुमार भुजेलको मृत्यु भएको हो ।
प्रारम्भिक अनुसन्धानबाट रुखको जरा कमजोर भएर ढलेको देखिएको प्रहरीले जनाएको छ । रुख ढलेपछि सडक केहीबेर अवरुद्ध भएको थियो ।
क्रेनको सहयोगमा रुख र बस हटाएर सवारी आवागमन पुनः सुचारु गरिएको थियो ।