दुई दिनदेखि हराएकी चार वर्षीया बालिका मृत फेला
पर्सा, ७ साउन । वीरगञ्जमा दुई दिनदेखि हराईरहेकी चार वर्षीया बालिका मृत भेटिएकी छन् ।
गएको साउन ५ देखि हराएकी वीरगञ्ज-२ छप्कैया घुसुकपर निवासी सिकन्दर अलीकी छोरी सुहाना खातुनको शव फेला परेको हो ।
स्थानीयले बालिकाको शव देखेपछि शनिबार विहान प्रहरीलाई खबर गरेका थिए । ५ गते हराएको भएपनि परिवारले ६ गते मात्रै निवेदन दिएका थिए ।
अहिले प्रहरी घटनास्थलमा पुगेको छ भने मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको छ ।
बालिकाको गालामा चोट देखिएको छ र हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
घटनामा संलग्न भएको हुन सक्ने भन्दै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।